नेपालगञ्ज । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम र समयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो ।
केन्द्रका प्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधिअनुसार तथ्याङ्क आउनुपर्ने बताए । उनले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।
“हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ”, उनले भने । जिल्लाको ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए । उनले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे ।