बराबरीमा टुङ्गियो बङ्गलादेश र पाकिस्तानबीचको खेल



काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो ।


समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ ।

पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले हराउँदै तीन अङ्क जोडेको थियो । बङ्गलादेश र पाकिस्तानको समान एक/एक अङ्क रहेको छ ।

खेलको पहिलो हाफमा पाकिस्तानले पहिलो अग्रता लियो । खेलको ३२औँ मिनेटमा पाकिस्तानकी जाहमेना मालिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाइन् ।

त्यस्तै, खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा बङ्गलादेशले गोल फर्कायो । बङ्गलादेशकी सम्सुनाहर जुनियरले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याइन् ।

समूह ‘बी’ अन्तर्गत सोमबार दिउँसो १ः३० बजे हुने पहिलो खेलमा भूटान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने छ भने साझ ५ः३० बजे हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स आमनेसामने हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here