प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ : मन्त्री भण्डारी



रुकुम । कर्णाली प्रदेश सरकार रणनीतिक अस्पताल स्थापनाको योजनामा रहेको प्रदेश सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताएका छन् ।

प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्ने उद्देश्यले रणनीतिक अस्पताल स्थापनाको योजना बनाइएको उनको भनाइ छ ।


आज रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विभिन्न जिल्ला र विकट ठाउँमा पायक पर्ने स्थानमा त्यस्ता अस्पताल स्थापना गर्ने योजना रहेको उनको भनाइ थियो ।

“प्रदेशका सबै ठाउँमा भरपर्दो स्वास्थ्य सेवा पुग्न सकेको छैन । त्यो समस्या समाधानका लागि सरकारले रणनीतिक अस्पताल सञ्चालनको योजना बनाएको हो । सरकारले १२ स्थानमा यस्ता अस्पताल निर्माण गर्ने योजना बनाएको छ,” मन्त्री भण्डारीले भने ।

अस्पतालमा विशेषज्ञ सेवाप्रवाह गर्ने उद्देश्य रहेको उनको भनाइ छ । प्रत्येक तीन महिनामा प्रदेशभर नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्रदेश सरकारले बनाएको उनले बताए ।

“प्रदेश सरकारहरु गठन हुनुअघि निर्माण थालिएका तर निर्माण हुन नसकेका धेरै स्वास्थ्य भवन अलपत्र अवस्थामा छन् । उतिखेर भवन निर्माण गरिरहेका कतिपय कार्यालयहरु सङ्घीयतापछि प्रदेशमा नहुँदा भवन निर्माणको काम अलपत्र परेका हुन् । त्यस्ता भवनको तथ्याङ्क सङ्कलन भइरहेको र अवस्था हेरेर निर्माणलाई निरन्तरता दिइने छ”, मन्त्री भण्डारीले भने ।