पृथ्वी राजमार्ग जोड्ने नियमित सडक हुन सक्छ ‘टोखा–छहरे–गल्छी खण्ड’



काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे खण्डको विकल्पमा अहिले काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारी साधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् ।

खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट उक्त सडक झण्डै तीन दिन अवरुद्ध भएपछि स–साना सवारी साधनले वैकल्पिक मार्गका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडकलाई प्रयोग गर्न थालेका हुन् । 


हिजोआज अधिकांश साना सवारी साधन (हाइस, जिप, कार) सीतापाइला–धार्के तथा टोखा–छहरे–गल्छी हुँदै पृथ्वी राजमार्गमा निस्कने गरेका छन् । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइको छ । सीतापाइला–रामकोट–भीमढुङ्गा–महेशफाँट हुँदै धार्केमा पुगिन्छ ।

नागढुङ्गा–नौबिसे खण्डको विभिन्न स्थानमा सडक भत्केको तथा काठमाडौँबाट बाहिरिने सवारी साधनको चापका कारण अत्यधिक जाम हुन थालेपछि साना सवारी साधनले बैकल्पिक मार्गका रूपमा ती सडक प्रयोग गर्दै आएका छन् ।

नुवाकोट र रसुवालाई काठमाडौँसँग जोड्ने टोखा–छहरे सडक खण्डमा अहिले काठमाडौँबाट पश्चिमी नेपालतर्फ जाने सवारी साधनका कारण चाप निकै बढेको छ । सामान्य अवस्थामा दैनिक करिब चार सय सवारी साधन गुड्ने टोखा–छहरे खण्डमा अहिले दुई हजार गाडी गुड्ने गरेका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख आशुतोषबहादुर शाही काठमाडौँ जाने यात्रुवाहक सवारीसाधनको सङ्ख्या दैनिक एक हजार हाराहारीमा भए पनि काठमाडौँबाट बाहिरिनेको सङ्ख्या असोज १३ गतेदेखि वृद्धि हुँदै गएको बताए । 

प्रहरी निरीक्षक शाहीकाअनुसार घटस्थापनापश्चात दैनिक एक हजार पाँच सय भन्दाबढी माइक्रोबस, मिनीबस तथा बस नुवाकोट हुँदै पृथ्वी राजमार्ग निस्किरहेका छन् । बुधबार मात्रै काठमाडौँबाट बाहिरिएका दुई हजार भन्दाबढी यात्रुवाहक सवारी नुवाकोट हुँदै पृथ्वी राजमार्ग प्रवेश गरेका छन् । 

दुईपाङ्ग्रे र निजी सवारी साधनको तथ्याङ्क जोड्ने हो भने सो खण्ड प्रयोग गर्नेको सङ्ख्या दैनिक पाँच हजार भन्दाबढी हुने प्रहरीको भनाइ छ । “टोखा–छहरे सडक हुँदै यसअघि नुवाकोट र रसुवासहित धादिङका केही भेकका यात्री आउजाउ गर्ने गरेकामा विपद्बाट नागढुङ्गा–नौबिसे सडकमा आएको अवरोध र उक्त सडकमा भइरहेका सवारीसाधनको जामको समस्याले अहिले धेरै यात्रुको रोजाइमा यो सडक परेको छ”, प्रहरी निरीक्षक शाहीले भने । 

गोङ्गबुँस्थित नयाँ बसपार्कबाट झोर (काठमाडौँ)– छहरे (नुवाकोट) र गल्छी (धादिङ) हुँदै पृथ्वी राजमार्गमा पुग्न सकिन्छ । नयाँ बसर्पाकबाट ७३ किमी दूरीमा गल्छी पुग्न सकिन्छ । दुई लेनको उक्त खण्डको पुरै भाग कालोपत्रे अवस्थामा छ । छोटो दूरी तथा कालोपत्र सडकका कारण यो खण्ड चालक र यात्रुको रोजाइमा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले बताए ।  

नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरणउत्सुक सापकोटा हालैको अविरल वर्षाबाट कुनै प्रभाव नपरेका कारण निरन्तर सञ्चालनमा भइरहेको यस सडक दुई लेनको कालोपत्रेसहित भएकाले यात्रीलाई आउजाउ गर्न निकै सहज रहेको बताए । 

टोखा–छहरे सडकलाई वैकल्पिक मार्ग नभई नियमित सडकका रूपमा प्रयोगमा ल्याउन सरकारले सुरुङ मार्ग बनाउने प्रस्ताव अघि बढाएको हो । योजना पूरा हुन समय लाग्ने भएकाले विद्यमान सडकअन्तर्गत काठमाडौँको झोरदेखि नुवाकोटको थानापतीसम्म १४ किमी खण्डमा पर्ने घुम्तीको सुधार र साँघुरा सडकमा टेवा पर्खाल लगाउन सकेको अवस्थामा सो सडक निकै सहज हुनेछ । 

छहरेदेखि गङ्गटेसम्म मध्यपहाडी सडक पर्छ । गङ्गटेदेखि गल्छीसम्म ‘गल्छी–रसुवागढी’ अन्तर्राष्ट्रिय राजमार्गको ‘डेडिकेडेट डबल लेन’ को सडक भएकाले काठमाडौँबाट छहरे हुँदै गल्छीसम्म सवारी सञ्चालन सहज छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here