पहिरोका कारण पाँचथर सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण



पाँचथर । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिराका कारण जोखिममा परेका हुन् ।

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन् । यसअघि पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीयवासी त्रासमा छन् ।


बजार नजिकको सुन्तलीचोकमा सडक माथिबाट ठूलो पहिरो झरेको थियो । यो पहिरोले ठूलो क्षति नगरे पनि पहिरोमाथिको जमिन लच्किएको छ भने सडक केहीतलको जमिन दबिएको स्थानीय बताउँछन् । फिदिम नगरपालिका–७, ८ र १३ लाई सदरमुकामसम्म जोड्ने फिदिम–रानीटार–लुङरुपा सडकमा पहिरो झरेर थुप्रिएको छ ।

सानाठूला ढुङ्गा घर अगाडि थुप्रिएका छन् । वर्षा कम भएकाले स्थानीयवासी घरमा फर्किन थालेका बताउँदै स्थानीय चन्द्रप्रसाद सारु मगरले वर्षा भइञ्जेल विस्थापित भएको बताए । जिल्लास्थित नेपाल पत्रकार महासङ्घको शाखाको भवन पनि पहिरोको जोखिममा परेको उनले जानकारी दिए ।

लच्किएको सबै जमिनका कारण स्थानीयमा त्रास थपिएको चन्द्रप्रसादले बताए । यहाँ १७ परिवारको बसोबास रहेकामा नौ परिवार पहिरोको त्रासमा बस्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।

“सबैले आएर हेरेर जानुभएको छ । अस्थायी रुपले बाटो खोलेपनि पहिरो पन्छाइएको छैन्”, उनले भने, “यसपाली मानवीय क्षति नभए पनि यहाँ बस्न डर लाग्छ । पहिरो झरेभन्दा माथि फिदिम बजारलाई धान्ने खानेपानीको ट्याङ्की छ । भवितव्यमा अस्तिजस्तै पानी प¥यो र ट्याङ्की फुट्यो भने यहाँदेखि साभ्राङसम्म बगाएर लैजान्छ ।”

फिदिम नगरपालिका–२ रमितेमा पाँच वर्षअघि रमिते भ्यू–टावर निर्माण भएको थियो । भ्यू–टावर नजिकै सवारी पार्किङस्थल पनि बन्यो । अविरल वर्षापछि यहाँ धेरै क्षेत्रको पानीको भल भेला भयो । मेची राजमार्ग नजिकै रहेको पार्किङ क्षेत्रभन्दा तीन गोलाइ तल सडक छेउको घरमा पहिरो झरेपछि स्थानीयवासी भेला भएर घरमा रहेका मालसामान निकाल्दै थिए ।

उक्त पहिरोले मेची राजमार्ग एक सातासम्म अवरुद्ध भएको थियो । “ठूलो पहिरो झरेपछि परिवारले यहाँ नबसौँ भन्न थाले । अर्कोतिर अर्खौले (नजिकैको अर्को गाउँ)मा पनि पहिरो गएर एक जनाको ज्यान गयो”, रमितेका स्थानीयसमेत रहनुभएका फिदिम–२ का वडा सदस्य राजु राईले भने, “यहाँ सुरु भएको पहिरो बढेर गयो भने यहाँभन्दा मुनि सदरमुकामको क्षेत्रलाई समेत असर पार्छ ।”

फिदिम बजारको चौतारेडाँडा, गैरीबारी तथा साभ्राङ आसपासमा पनि सानोठूलो पहिरो झरेको छ । चौतारेडाँडाका पदमध्वज सुहाङको पक्की घरसम्म पहिरो आइपुगेको छ । “घर चर्किएको छ । भान्साघरलगायत संरचनामा क्षति भएको छ”, स्थानीय सुहाङले भने, “वर्षा हुँदा यहाँ बस्न जोखिम हुन्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here