द्वन्द्वरहित समाज स्थापित गर्न समावेशी प्रणाली अपनाउनुपर्छ : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुुरुङले राज्यका निकायमा समावेशी प्रतिनिधित्व भएपछि मात्र समग्र विकासले गति लिने बताएका छन् । 

रेडियो नेपालमा दनुवार भाषाको बुधबार शुभारम्भ गर्दै मन्त्री गुरुङले द्वन्द्वरहित समाज स्थापित गर्न र सुशासन कायम राख्नका लागि पनि समावेशी प्रणाली अपनाउनुपर्ने धारणा राखे । 


सरकारका प्रवक्ता समेत रहेका  मन्त्री गुरुङका अनुसार नेपाल सानो भए पनि यहाँ एक सय २३ भाषाभाषी र एक सय २७ भन्दा बढी जातजाति रहेको बृहत् देश हो । यी सबै समुदाय, धर्म, भाषाभाषिप्रति राज्यको समान पहुँच स्थापित गर्ने र अपनत्व महसुस गराउने उद्देश्यले सङ्घीय प्रणाली ल्याइएको उनले स्पष्ट पारे ।  

रेडियो नेपालमा हालसम्म २४ वटा राष्ट्र भाषामा समाचार सेवा प्रदान गरिँदै आइएकामा बुधबार देखि दनुवार भाषा थपगरी २५ वटा भाषा समाचार सेवा शुभारम्भ गरिएको हो । मन्त्री गुरुङले समावेशी भाषाको पहुँच र विस्तारमा मन्त्रालय सधैँ सकारात्मक रहेको बताउँदै सरकारको एक सयदिने कार्ययोजनाभित्र यो एउटा महत्त्वपूर्ण कार्यसम्पादन भएको दाबी गरे । 

मन्त्री गुरुङले रेडियो नेपाल जनताको सूचनाको मूल स्रोत भएको र यसलाई समयसापेक्ष परिमार्जन गर्ने गृहकार्य भइरहेको जानकारी गराए । दनुवार भाषाको प्रसारण शुभारम्भ कार्यक्रममा सरस्वती दनुवारको आवाजमा प्रत्यक्ष समाचार प्रसारण गरिएको थियो । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले दनुवार भाषाको समाचार सेवा प्रसारणले समग्र दुर्लभ दनुवार समुदायको भाषा, संस्कृति र इतिहास संरक्षण हुने आधार बनेको बताए । साथै दनुवार समुदायको आत्मसम्मान र पहिचानसमेत यस सेवाले स्थापित गर्नसक्ने सचिव अर्यालले धारणा राखे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here