दक्षिणी लेबनानमा ‘व्यापक विनाश’ भएको राष्ट्रसङ्घीय शान्ति सेनाको भनाइ



हिजबुल्लाह विरुद्धको इजरायलको बढ्दो युद्धले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरेको त्यस क्षेत्रको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शुक्रबार बताएको छ ।

इजरायली सेनाले आफ्नो पोस्टमा बारम्बार आक्रमण गरे पनि शान्ति सेनाका सैनिकहरू त्यहाँ रहनु पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको युनिफिलका प्रवक्ताले बताएका छन् ।


“ब्लु लाइन वरपरको तनावले दक्षिणी लेबनानका सहर र गाउँहरूमा व्यापक विनाश गरिरहेको छ, इजरायलतर्फ नागरिक क्षेत्रसहित रकेट प्रहार जारी छ”, लेबनानमा युनिफिलका प्रवक्ता आन्द्रेया टेनेन्टीले बेरुतबाट भिडियो लिङ्कमार्फत जेनेभामा आयोजित मिडिया ब्रिफिङमा भने, “ब्लु लाइन र त्यसभन्दा परका धेरै गाउँको विनाश र तहसनहस चकित पार्ने खालको छ ।” ब्लु लाइन इजरायल र लेबनानबीचको सीमाङ्कन रेखा हो ।

“अहिलेको समयमा युनिफिलको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण छ, हामी यहाँ रहनुपर्छ, हामीले यस क्षेत्रमा स्थिरता र शान्ति फिर्ता ल्याउने प्रयास गर्नुपर्छ”, उनले भने

। राष्ट्रसङ्घीय शान्ति सैनिकहरूलाई इजरायली सेनाका कारण मानिएका केही पटक ‘जानाजान आक्रमण’ मा लक्षित गरिएको छ । यी आक्रमणको अन्तर्राष्ट्रिय आलोचना बढेका छन् तर इजरायली सेनाले राष्ट्रसङ्घीय शान्ति सैनिकहरू वा उनीहरूको पोस्टलाई लक्षित नगरिएको बताएको छ ।

सन् १९७८ मा इजरायली सेनाले लेबनानमा आक्रमण गरेपछि उनीहरूको फिर्तीको निगरानी गर्न र लेबनानी सरकारलाई सीमा क्षेत्रमा अधिकार पुनःस्थापित गर्न सहयोग गर्न युनिफिलको स्थापना गरिएको थियो । मिसनमा हाल ५२ योगदानकर्ता मुलुकबाट १० हजारभन्दा बढी शान्ति सैनिक रहेको टेनेन्टीले जानकारी दिए । यसले ‘पछिल्लो १२ महिनादेखि द्वन्द्वले ध्वस्त भएको यस क्षेत्रमा स्थिरता फिर्ता ल्याउन’ अन्तर्राष्ट्रिय प्रतिबद्धता देखाउँछ ।

हिजबुल्लाहले एक वर्षभन्दा बढी समयदेखि इजरायलसँग सीमापार गोलीबारी गर्दै आएको छ । उसले गाजामा इजरायलको विनाशकारी स्थल र हवाई आक्रमणको जवाफमा काम गरिरहेको बताएको छ । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले सन् २०२३ अक्टोबर ७ मा गाजाबाट इजरायलमा अचानक आक्रमण गरेपछि गाजा युद्ध सुरु भएको थियो ।

इजरायल–लेबनान सीमामा करिब दैनिक गोलाबारीका कारण गत महिना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहरूलाई कुल्चने प्रतिज्ञा गरेपछि नाटकीय रूपमा तनाव बढ्नुअघि नै दुवैतर्फका दशौँ हजार मानिस विस्थापित भएका थिए । युद्धमा लेबनानमा कम्तीमा एक हजार चार सय १८ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here