ढोरवाराही मन्दिरको प्रवर्द्धनमा सरकारले सहयोग गर्छ: पर्यटमन्त्री पाण्डे



तनहुँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ढोरावाराही मन्दिरको विकास र प्रवर्द्धनलाई सरकारले प्राथमिकता दिने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज शुक्रबार यहाँ आयोजना गरेको ‘मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्व र यसको दीर्घकालिन विकास’सम्बन्धी अन्तरक्रियामा उनले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलको विकासमा सरकारले ध्यान दिइरहेको बताए ।

गण्डकी प्रदेश सरकारले दश गन्तव्यमध्ये एउटा गन्तव्य ढोरवाराहीलाई बनाएको भन्दै मन्त्री पाण्डेले भने, “यसै वर्ष यस ठाउँको प्रोफाइल बनाउने गरी नेपाल पर्यटन बोर्डलाई ध्यानाकर्षण गराउनेछु । त्यसो भएको खण्डमा यस ठाउँको थप विकासमा टेवा पुग्नेछ ।”मन्त्री पाण्डेले ढोरवाराही मन्दिरको गुरुयोजना बनाएर विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, “यस मन्दिरको धार्मिक महत्वका बारेमा हामी सबै जानकार छौ । स्थानीय, प्रदेश र सङ्घ सरकार मिलेर यसको प्रवर्द्र्धनमा जुट्नुपर्छ ।”


तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले ऐतिहासिक र धार्मिक महत्व बोकेको ढोरवाराहीलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य श्यामराजा महत, पूर्वमन्त्री आशा कोइराला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्लेले ढोरावाराहीलाई धार्मिक सांस्कृतिक गन्तव्यस्थल बनाउने गरी आवश्यक पूर्वाधार गर्नुपर्नेमा जोड दिए ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले स्थानीय सरकारका तर्फबाट यस क्षेत्रको विकासका लागि आफूहरू लागिपरेको बताए ।  जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन लोभ्याउँँछ । ढोरवाराहीमा रहेको पोखरीमा बेला–बेला लहरी छुट्ने गर्दछ । रहस्य लहरीलाई धार्मिक आस्थाको रूपमा लिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here