ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने भएकाले अब कार्ड आवश्यक नभएको बताएका हुन् ।


उनले भनेका छन्, ‘सवारी चालक अनुमतिको लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको छ । नागरिक एपमार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुनेछ । सवारी नियम उल्लंघनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल पेमेन्ट गर्ने व्यवस्था गरिएको छ। यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लंघनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ।’

प्रधानमन्त्री ओलीले नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यलयबाट परीक्षणका रूपमा यो व्यवस्था सुरु हुनेछ । नागरिक एपमा अरु सेवा पनि थप्ने तयारी गरिएको छ । कुनै पनि कामको लागि लाइन बस्नु पर्ने समस्याबाट मुक्त गर्ने तयारीमा हामी लागेका छौं । राज्यले नागरिकलाई छिटो सेवा प्रवाहमा यसले सहयोग पुग्नेछ भन्ने हामीले आशा राखेका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here