ट्रम्पलाई स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्न ह्यारिसको आग्रह



बीबीसी । अमेरिकी राष्ट्रपति पदकी डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेकी छन् जसले उनको स्वास्थ्य ‘एकदम राम्रो’ र राष्ट्रपति पदका लागि उपयुक्त रहेको देखाएको छ ।

आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि भूतपूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पमाथि ह्यारिसले स्वास्थ्यलाई लिएर उनी अपारदर्शी भएको आरोप लगाएकी छन् । ट्रम्पले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।


बहालवाला उपराष्ट्रपति समेत रहेकी ह्यारिसले आफ्ना ‘रिपब्लिकन प्रतिद्वन्द्वीले उनी राष्ट्रपति हुनका निम्ति स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी जनताले थाहा पाऊन् भन्ने नचाहेको’ दाबी समेत गरेकी छन् । ट्रम्पको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक नगरेको उनको चुनावी अभियान समूहले उनको स्वास्थ्य ‘एकदम ठीक’ रहेको भनेर चिकित्सकले जानकारी गराएको प्रतिक्रिया दिएको छ ।

अभियान समूहले रिपब्लिकन उम्मेदवार ‘अति व्यस्त तथा चुनावी प्रचारप्रसारमा सक्रिय’ रहेका बताउँदै ह्यारिससँग ‘ट्रम्पको जस्तो इच्छाशक्ति नरहेको’ दाबी गरेको छ । ह्वाइट हाउसले राष्ट्रपतिको पद सम्हाल्न उपराष्ट्रपति ह्यारिसको ‘शारीरिक र मानसिक स्वास्थ्य उपयुक्त रहेको’ भन्ने स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि दुई पक्षबीच आरोपप्रत्यारोप शुरू भएको हो ।

विगत तीन वर्षदेखि ह्यारिसका फिजिसियन रहेका अमेरिकी कर्नेल डा. जोशुआ सिमोन्सका अनुसार गत अप्रिलमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य देखिएको थियो ।

ह्यारिसले स्वस्थकर र सक्रिय जीवनशैली अपनाउँदै आएकी पनि सिमोन्सले बताएका थिए । ह्यारिसको स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरिएपछि उनको चुनावी अभियान समूहका प्रवक्ताले सामाजिक सञ्जालमा लेखेका छन् ‘अब तपाईँको पालो, डोनल्ड ट्रम्प।’

हाल ७८ वर्षमा रहेका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन् । चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडनबारे रिपब्लिकनहरूले पनि सोही प्रकृतिको आलोचना गर्दै आएका थिए ।

राष्ट्रिय जनमत सर्वेक्षणहरूले ह्यारिस ट्रम्पभन्दा झिनो मत अन्तरले अगाडि रहेको देखाएका छन् । नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आउँदो महिनामा निर्वाचन हुँदैछ । लगभग २४ करोड अमेरिकी यस पटकको राष्ट्रपतीय निर्वाचनमा मतदान गर्न योग्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here