जीवनोपयोगी शिक्षा आवश्यक छः मुख्यमन्त्री पाण्डे



कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।

पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डले सीपमूलक शिक्षा दिन सक्यौँ भने मात्र शिक्षित युवालाई स्वदेशमा रोक्न सकिने धारणा राखे ।


विश्वविद्यालयले गर्ने अनुसन्धानको विषय नयाँ–नयाँ हुनुपर्ने भन्दै उनले विश्वविद्यालयले दिने शिक्षा गुणस्तरीय र सीपमूलक भएमा यसवा स्वरोजगार बन्न सक्ने बताए ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालय सीमित स्रोत र साधनमा सञ्चालन हुँदै आएको बताउँदै उनले सधैँ सरकारले बजेट दिन नसक्ने हुँदा विश्वविद्यालय आत्मनिर्भरतातर्फ अगाडि बढ्नसमेत सुझाव दिए ।

समयमा भवन निर्माण सम्पन्न गरी प्रभावकारी व्यवस्थापनसहित काम गरी अगाडि बढ्न उनले विश्वविद्यालय परिवारलाई आग्रह गरे । विश्वविद्यालयमा राजनीति हुन नहुने भन्दै उनले विद्यार्थीका चाहना पूरा हुनेगरी शिक्षामा केन्द्रित हुन सबैलाई सुझाव दिए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बजारको मागलाई ध्यान दिँदै विश्वविद्यालयले आफ्ना पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए । प्राविधिक र सीपमूलक शिक्षाले देशको बेरोजगारीलाई कम गर्न सकिने उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले विज्ञान र प्रविधिलाई अगाडि बढाउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको उक्त विद्याविद्यालयले राजनीतिभन्दा माथि उठेर गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले विसं २०७६ देखि सञ्चालनमा आएको यस विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको दाबी गरे । रु १० करोड ९२ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त विश्वविद्यालयको मुख्य प्रशासनिक भवन १८ महिनाभित्र सम्पन्न हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here