जर्मनीद्वारा भारतीयहरूलाई थप भिसा दिने प्रतिबद्धता



नयाँदिल्ली । जर्मनीले भारतीय कुशल कामदारहरूलाई आफ्नो देशमा काम गर्न दिने भिसाको सङ्ख्या उल्लेखनीय रूपमा बढाउने वाचा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन चान्सलर ओलाफ सोल्सलाई नयाँदिल्लीमा शुक्रबार स्वागत गर्ने क्रममा जर्मनीबाट उक्त प्रतिबद्धता आएको हो ।


विश्वको तेस्रो र पाँचौँ ठूलो अर्थतन्त्रका नेताहरूबीच छलफलका लागि जर्मन चान्सलर सोल्स केही क्याबिनेट मन्त्रीहरूसहित गत वर्षयता भारतको तेस्रो भ्रमणमा आएका छन् । उनको प्रशासन कुशल भारतीय कामदारहरूलाई वार्षिक रूपमा प्रदान गरिने भिसाको सङ्ख्या २० हजारबाट बढाएर ९० हजार पुगाउन सहमत भएको छ । “जर्मनी कुशल कामदारहरूका लागि खुला छ भन्ने सन्देश हो”, सोल्सले भने ।

मोदीले यस सम्झौतालाई दुवै देशका लागि आर्थिक वरदान भएको बताए । भारत र जर्मनीले पेशेवर र विद्यार्थीहरूको गतिशीलतालाई सहज बनाउन दुई वर्षअघि पहिलो पटक आप्रवासन सम्झौतामा हस्ताक्षर गरेका थिए । बर्लिनले आफ्नो भिसा आवेदन प्रक्रियालाई झन्झटमुक्त बनाउने र जर्मनीमा भारतीय पेशागत योग्यताको मान्यतालाई सुधार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

सोल्स सन् २०२३ फेब्रुअरीमा राजकीय भ्रमण र त्यसपछि नयाँदिल्लीमा भएको जी२० शिखर सम्मेलनपछि बिहीबार राति भारत आइपुगेका छन् । भारतको विदेश मन्त्रालयले यस हप्ता दुवै देशबीचको साझेदारी वर्षौंदेखि ‘गहिरिँदै’ गएको बताएको छ । जर्मनी र भारत रक्षा साझेदार हुन् र दुवै पक्षका नौसेनाले यस हप्ताको सुरुमा हिन्द महासागरमा ‘समुद्री साझेदारी अभ्यास’ गरेका छन् ।

पहिलो पटक गरिएको यो अभ्यास ‘दुई राष्ट्रबीचको समुद्री सम्बन्ध र नौसेनाबीचको अन्तरसञ्चालनीयतालाई थप सुदृढ बनाउने’ उद्देश्यले गरिएको भारतीय नौसेनाको बिहीबारको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here