कुश्मामा बढ्न थाल्यो पर्यटकहरूको चहलपहल



पर्वत । पर्वतको कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । बडादसैँ मनाउन आएकाहरु बिदामा घुम्न यहाँ आइपुगेका छन् ।

विभिन्न सङ्घ संस्थाबाट समेत अवलोकन भ्रमणका लागि सदरमुकाम कुश्मा आएका छन् । कुश्मा बजार क्षेत्रमा बञ्जीजम्प, जीपलाईन, अग्ला र लामा झोलुङ्गे पुल रहेका छन् ।


त्यसैले यहाँ बढीजसो आन्तरिक पर्यटकलाई घुम्न आएका हुन् । दसैँ सकिएसँगै यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । अरु समयमा भन्दा दसैँतिहार जस्ता चाडवाडमा पर्यटक बढी भित्रिने गरेका छन् ।

कुश्माका पर्यटकीय स्थलमा पछिल्लो समय आन्तरिकका साथै बाह्य पर्यटक पनि घुम्न आउन थालेका होटल व्यवसायी सुरेश केसी बताउँछन् । “पर्यटकको सङ्ख्या बढेसँगै कुश्मा बजारका होटल भरिभराउ हुन थालेका छन्”, उनले भने ।

पर्यटक आगमन बढ्न थालेपछि कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । मुस्ताङ, उपल्लो मुस्ताङ, कोरला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि यहाँ चहलहपल बढ्न थालेको पर्यटन व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताए ।

मुस्ताङ जाने पर्यटकले बास बस्न यहाँका होटल बुकिङ गर्ने गरेका उनले बताए । बञ्जिजम्प र जीपलाइनका लागि समेत एक हप्ता अघिदेखिनै टिकट बुकिङ भइरहेको सञ्चालकहरुले बताएका छन् ।

शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको समयमा यहाँ पर्यटकको चहलपपह बढी हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here