काभ्रेपलाञ्चोक। जिल्ला विपद् व्यवस्थापन समितिले हालैको बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई आर्थिक सहयोग गर्नेे भएको छ। समितिले हाललाई प्रतिपरिवार क्षतिका आधारमा रु १५ देखि २० हजारसम्म प्रदान गर्ने निर्णय गरेको छ।
समितिको मङ्गलबारको बैठकले जिल्ला विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो। विपद्बाट घर, आवास नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा–जमिन वा पसल–व्यवसायसमेत नोक्सानी भई तत्काल गुजाराको लागि खाद्यान्न नभएका वा दुवै अवस्थामा पीडित परिवारलाई यथाशीघ्र प्रतिपरिवार पाँच जनासम्म सदस्य भएको परिवार भए रु १५ हजार प्रदान गर्ने निर्णय गरेको हो।
त्यसैगरी, पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई रु २० हजार प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। धुलिखेल र बनेपा नगरपालिकालाई विपद् सङ्कटग्रस्त घोषणा गर्न गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समक्ष अनुरोध गर्ने निर्णय भएको छ। यसअघि सरकारले काभ्रेपलाञ्चोकको १३ मध्ये ११ स्थानीय तहलाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ।
जिल्लाका १० हजार घरमा क्षति पुगेको अनुमान छ। जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० स्थानीय तहमा बाढीपहिरोमा परी ७८ जनाले ज्यान गुमाएका छन्भने पाँच जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार ७५ जना घाइते भएका र ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ।