कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु



कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरे । नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिए ।“तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ”, उनले भने । उनले भने, “प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड  बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन्छ ।”


उनका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी र्यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार रु २५ हजारसहित २० खेलाडीलाई कुल  ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ३० हजारसहित अन्य २० खेलाडीलाई कुल रु एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार रु ६० हजारसहित २५ खेलाडीलाई रु दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । प्रतियोगिताका संयोजकका अनुसार ६५ खेलाडीलाई कुल रु चार लाख ७० हजार नगद पुरस्कार वितरण गरिने अयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here