ओल्गा एक असाधारण समाजसेवी : मन्त्री डा राणा



ललितपुर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओल्गा डेविस मरी एक असाधारण सामाजसेवी रहेको बताएकी छन्। नेपाल युथ फाउण्डेशनद्वारा ललितपुर महानगरपालिका–२२ चुनिखेलस्थित ओल्गापुरी भिलेजमा आयोजित स्वर्गीय मरीको शालिक अनावरण गर्दै मन्त्री डा. राणाले ओल्गाले जीवनमा आफूलाई हजारौं बालबालिकाहरुको भविष्य निर्माणमा  निःस्वार्थ रूपमा समर्पित गरी असाधारण काम गरेको बताइन् ।

‘ओल्गा एक असाधारण समाजसेवी हुन्, जसलाई म यहाँका हरेक बालबालिकामा पाउँछु, उहाँले गर्नु भएको कामले हामीलाई छोएको छ, जब मैले ओल्गाको शालिक अनावरण गरें, तब मैले उहाँले सिर्जना गरेको विरासत र उहाँले भविष्य निर्माण गरिदिनु भएको हजारौं मानिसको भावनालाई चीरस्मरणीय राख्न महत्वपूर्ण काम भएको महसुस गरेको छु’, डा. राणाले भनिन् ।


ओल्गा डेविस मरी नेपाल युथ फाउण्डेशनको संस्थापक हुन् ।  अमेरिकी नागरिक मरीले फाउण्डेशनमार्फत विगत ४० वर्षदेखि नेपाल र नेपाली बालबालिकाहरुका लागि जीवन समर्पित गर्दै आएका थिए । अवसरविहीन बालबालिका र युवाको भविष्य निर्माण गर्न सहयोग पुर्‍याउने हेतुले सञ्चालित ओल्गापुरी भिलेज बालबालिका र युवाका लागि मरीको अमूल्य उपहार भएको संस्थाका कार्यकारी निर्देशक राजु धमलाले बताए । 

मरीले पुर्‍याएको योगदानको कदर गर्दै सरकारले गोर्खा दक्षिणबाहु विभूषणबाट सम्मानित गरेको थियो । सरकारले उनलाई नेपालका लागि आजीवन आवासीय भिषा प्रदान गरेको थियो । ओल्गा मरीको ९८ वर्षको उमेरमा गत फ्रेब्रुअरी २०२४ मा देहान्त भएको थियो । फाउण्डेशनले ओल्गापुरी भिलेज हाताभित्र मरीको शालिक स्थापना गरेको हो । शालिक अनावरण कार्यक्रममा बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्प्सन, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्य,  ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here