इजरायल र लेबनानको युद्ध चर्किएसँगै नेपाली शान्ति सेना जोखिममा



काठमाडौं । अहिले इजरायल र लेबनानको युद्ध चर्किएको छ । इजरायल र हमासबीचको युद्ध अब इरान समर्थित लेबनानको शसस्त्र समूह हिज्बुल्लाहसँग विस्तार भएसँगै लेबनान अर्को गाजा बन्ने होकी भन्ने आशंका बढेको छ । शक्तिशाली मिसाइलको वर्षा भइरहेको छ । पछिल्ल्लो गाजा युद्धयता हिज्बुल्लाहले इजरायलमा ९ हजारभन्दा बढी मिसाइल आक्रमण गरी करिब ७० हजार इजरायलीलाई घरबारविहीन बनाइसकेको छ ।

तर, यो युद्धको चपेटामा परेका छन्, इजरायल र लेबनानी सीमामा खटिएका शान्ति सेना । त्यो सूचीमा नेपाली सैनिकहरू पनि कार्यरत छन्। स्रोतका अनुसार इजरायल र लेबनानको सिमानामा ८७७ बढी नेपाली शान्ति सेना छन् । तर युद्ध चर्किएसँगै उनीहरुको सुरक्षामा प्रश्न खडा भएको हो ।


हालसालै इजरायली आक्रमणमा परेर १५ शान्ति सैनिक घाइते भएका छन् । शान्ति सेनाको कार्यालय युनिफिलको गेट भत्किएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि शान्ति सेना हटाउन संयुक्त राष्ट्रसङ्घलाई चेतावनी दिइसकेका छन् ।

हिजबुल्लाहले सीमानजिकैको एउटा गाउँमा आफ्ना लडाकुहरू अत्यन्तै निकटको दूरीबाट इजरेली सेनासँग लडिरहेको जनाएको छ । यता इजरेली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि लडाइँमा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ । आईडीएफका अनुसार उसले विगत २४ घण्टामा मात्रै हिज्बुल्लाहका झण्डै २०० ठेगानामा आक्रमण गरेको छ। तीमध्येका एउटा घटनामा रेड क्रसका स्वयंसेवकहरू पनि घाइते भएका छन्। ती स्वयंसेवकहरू इजरेलले आक्रमण गरेको एउटा भवनमा घाइते र हताहत भएकाहरूको खोजी गरिरहेका थिए। आईडीएफले हिज्बुल्लाहले हतियार र लडाकुहरू ओसारपसार गर्न एम्बुलेन्सको प्रयोग गरेको आरोप लगाएको छ। तर उसले कुनै प्रमाण दिएको छैन।

गत बिहीवार इजरेली ट्याङ्कबाट भएको गोली प्रहारको घटनामा दुई इन्डोनेसियाली शान्ति सैनिकहरू घाइते भएका थिए। शुक्रवार नकुरा भन्ने स्थानमा दुई श्रीलङ्काली सैनिकहरू घाइते हुने गरी भएको अर्को घटनाको आईडीएफले जिम्मेवारी लिएको थियो । तर, यी हालसालै घाइते हुनेहरूमा कति नेपालीहरू परे वा परेनन् भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । नेपाली सेनाले पनि कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।

बेलायतसहितका ४० देशले लेबननमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन्। यो वर्ष विश्वका विभिन्न ११ वटा मिसनमा ६ हजारभन्दा बढी शान्ति सैनिक तैनाथ गर्दै नेपाल शान्ति स्थापनाका लागि सेना उपलब्ध गराउने पहिलो नम्बरको देश बनेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा खटिने गरिएका शान्ति सैनिकको मुख्य जिम्मेवारी सर्वसाधारण मानिसको सुरक्षा गर्नु र द्वन्द्व चर्कन नदिनु भएको बताउने गरिन्छ। तर यसरी पहिलो नम्बरमा पर्दै गर्दा युद्ध चर्किएका स्थानमा खटिएका नेपाली शान्ति सेनामाथि जोखिम पनि उत्तिकै बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here