अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा



काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई अवरुद्ध बीपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ। केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरू, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा शुक्रबारदेखि सञ्चालन गर्न सफल भएको हो।


कार्यालयले शुक्रबार बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लो पटक राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका–९ मंगलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए।

उनका अनुसार बाढी पहिरोले राजमार्गको काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रूपमा एकतर्फी खुलाइएको छ। बाढी पहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पुर्‍याएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण शुरू गरिएको कार्यालयले जनाएको छ। “राजमार्गको सडक, पुल र कल्भर्ट बगेको स्थानमा हाललाई सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माण गरिएको हो”, उनले भने।

धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ। रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो।

यसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय, कटुञ्जे घुमाउनेमा पाँच सय, लास्कोट बेँसीमा दुई सय, चार सय बेँसीमा पाँच सय, गिम्दीबेँसीमा तीन सय, खार्पाचोकबेँसीमा तीन सय र नार्केमा आठ सय मिटर सडक क्षतिग्रस्त भएको थियो।

यस्तै, पिन्थलीबेँसीमा चार सय, दाउन्नेमा तीन सय, मंगलटार बोक्सीकुनामा छ सय, चिउरीबासमा दुई सय, कालढुङ्गामा एक किलोमिटर, डालाबेँसीमा आठ सय, पिप्लको दुई स्थानमा गरी सात सय, बर्खेखोला तीन सय, चालिसेमा चार सय र माम्तीमा आठ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको थियो।

बाढी पहिरोले उक्त राजमार्गमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाको विपद् पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवं पूर्वी तराईबाट आएका यात्रु अलपत्र भएपछि भोलिपल्टैदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो।

राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको कार्यालयले जनाएको छ। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांकन गर्दा दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको प्रमुख योगेशले बताए।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here