अमेरिकी चेतावनीपछि श्रीलङ्काद्वारा यहुदी सामुदायिक केन्द्रमा सेना परिचालन



कोलम्बो । श्रीलङ्काले बुधबार अमेरिकी दूतावासले सम्भावित आक्रमणको चेतावनी दिएपछि लोकप्रिय सर्फिङ शहरमा रहेको यहुदी सामुदायिक केन्द्र वरिपरि सेना परिचालन गरेको छ र प्रहरी गस्ती बढाएको छ ।

पूर्वी अरुगम बेमा इजरायली स्वामित्वका व्यवसायहरूको बहिष्कारका लागि सामाजिक सञ्जालमा आह्वान गरिएपछि सुरक्षा र चेतावनी बढाइएको हो ।


‘इजरायलीहरूले सञ्चालन गरेको ‘चाबाद हाउस’ नामक स्थान लक्षित हुन सक्ने जानकारी थियो र हामीले सुरक्षा बलियो बनाउने उपायहरू अपनाएका छौँ’, प्रहरी प्रवक्ता निहाल थल्दुवाले भने ।

उनले चाबाद हाउस भ्रमण गर्ने यहुदी पर्यटक र बेको मुस्लिम बहुल जनसङ्ख्याबीच हालैका दिनहरूमा तनाव रहेको बताए ।

सेना र नौसेनाका साथै प्रहरी कमान्डोहरूलाई क्षेत्रमा गस्ती बढाउन र चेकपोइन्टहरू सम्हाल्न परिचालन गरिएको छ ।

गाजा र लेबनानमा इजरायलले इरान समर्थित हमास र हिजबुल्लाहविरुद्ध गरेको लडाइँको विरोधमा स्थानीय मुस्लिम समूहहरूले गरेका प्रदर्शनहरूले मुख्यतया बौद्ध धर्मावलम्बी रहेको यस दक्षिण एसियाली राष्ट्रको व्यापक समुदायको समर्थन पाएको छ ।

यस वर्षको पहिलो नौ महिनामा श्रीलङ्कामा भ्रमण गर्ने १५ लाख पर्यटकमध्ये इजरायलीहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतभन्दा कम अर्थात करिब २० हजार थियो ।

तर कोलम्बोबाट सडक मार्ग हुँदै चार सय किलोमिटर पूर्वमा अवस्थित सर्फिङको हटस्पट अरुगम बे इजरायली पर्यटकहरूको लोकप्रिय गन्तव्य हो ।

तत्काल खतराको दुर्लभ सूचनामा अमेरिकी दूतावासले बुधबार ‘पूर्वी अरुगम बेमा लोकप्रिय पर्यटकीय स्थलहरूलाई लक्षित गरी आक्रमण हुने चेतावनी दिने विश्वसनीय जानकारी प्राप्त गरेको’ बताएको छ ।

बेलायत र क्यानाडाले आफ्ना वेबसाइटहरूमा अमेरिकी चेतावनी साझा गरेका छन् भने रुसी दूतावासले आफ्ना नागरिकहरूलाई श्रीलङ्का भ्रमण गर्दा भीडभाड भएका ठाउँहरूबाट टाढा रहन सल्लाह दिएको छ ।

यसैबीच इजरायलको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) ले ‘पर्यटकीय र तटीय क्षेत्रहरूमा विश्वसनीय आतङ्कवादी खतराहरूका कारण श्रीलङ्काका लागि यात्रा चेतावनी स्तर बढाएको छ’ ।

इजरायलले अरुगम बे र अन्य समुद्री तटहरूमा रहेका आफ्ना नागरिकहरूलाई ‘देश छोड्न वा कम्तीमा स्थानीय सुरक्षा बलहरूको उच्च उपस्थिति भएको राजधानी कोलम्बोमा जान’ आग्रह गरेको छ ।

– नयाँ हटलाइन –

पैँतालिस विदेशी नागरिक सहित दुई सय ७९ जनाको ज्यान लिएको सन् २०१९ को इस्टर सन्डे बम विस्फोटपछि श्रीलङ्कामा कुनै आक्रमण भएको छैन ।

तीन वटा विलासी होटल र तीन वटा चर्चविरुद्ध भएको समन्वित आक्रमण इस्लामिक स्टेट समूहप्रति वफादारी जनाएको एक स्थानीय जिहादी समूहको काम भएको आरोप लगाइएको थियो ।

त्यसपछि पर्यटक सङ्ख्यामा तीव्र गिरावट आएको थियो र सन् २०२२ को आर्थिक मन्दीले व्यापक नागरिक अशान्ति निम्त्याएपछि अझै प्रभावित भएको थियो ।

तर गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको राहत प्याकेजले अर्थतन्त्र स्थिर पार्न मद्दत गरेपछि विदेशी पर्यटकहरूको सङ्ख्या बढेको छ ।

अमेरिकी दूतावासको चेतावनीपछि प्रहरीले मुलुकभर पर्यटकहरूको सुरक्षाका लागि नयाँ सुरक्षा योजना सार्वजनिक गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here