हिज्बुल्लाहसँगको लडाइँमा लेबननमा आठ इजरायली सैनिकको मृत्यु



बीबीसी । इजरायली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ । लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरायलले बेहोरेको पहिलो मानवीय क्षति हो ।

इरान समर्थित हिज्बुल्लाहले लडाइँमा इजरायली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरायली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ । यसअघि इजरायली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबननमा भइरहेको कारबाहीमा जोडिएको जनाएको छ ।


इजरायलले उक्त कारबाहीको उद्देश्य लेबननी सीमावर्ती गाउँका ‘आतङ्कवादी पूर्वाधार’ नष्ट गर्नु रहेको जनाउँदै आएको छ । लेबननमा स्थल अतिक्रमण गरेको दोस्रो दिन इजरायली फौजले पहिलो पटक हिज्बुल्लाह लडाकुको सामना गरेका थिए ।

इजरायल डिफेन्स फोर्सेस (आइडीएफ)ले विज्ञप्तिमार्फत् हवाई सेनाको साथ पाएका आफ्ना सैनिकहरूले कैयौँ दक्षिण लेबननी क्षेत्रमा ‘आतङ्कवादीहरूलाई मारेको र उनीहरूका आतङ्कवादी पूर्वाधारलाई ठिक निशानामा पर्ने अस्त्र र नजिक दूरीबाट लडेको’ जनाएको थियो ।

पछि आइडीएफले त्यस क्रममा आफ्ना आठ जना सैनिक मारिएको घोषणा गरेको छ । मारिनेमा धेरैजसो कमान्डो छन् । विवरणहरूका अनुसार ६ जनालाई हिज्बुल्लाह लडाकुहरूले एम्बुसमा पारेका थिए भने अन्य दुईजना मोर्टार हमलामा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here