स्पेनको बाढीप्रभावित क्षेत्रमा अति आवश्यक काममा बाहेक घरमै बस्न आग्रह



भ्यालेन्सिया, स्पेन । स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन्।

बुधबार आएको बाढीमा परी कम्तीमा ९५ जनाको ज्यान गएको र बाढीमा बाँचेकाहरूको खोजीका लागि उद्धारकर्मीहरूले युद्धस्तरमा काम गरिरहेका समय सरकारी अधिकारीले बाढीको जोखिमबाट बच्न घरबाट बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।


स्पेनको पूर्वी शहर भ्यालेन्सिया आसपासका क्षेत्रमा आएको बाढीले तहसनहस पारेका शहरहरुमा ड्रोनसहित उद्धारकर्ताले खोजी जारी राखिरहेका छन् भने स्पेनले विपत्तीमा परी मृत्यु हुनेको सम्झनामा तीन दिनको शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री पेड्रो सान्चेजले नागरिकलाई आपतकालीन सेवाहरूको आग्रहलाई अनुसरण गर्न र अतिआवश्यक काममाबाहेक घरबाहिर नजान आग्रह गरेकाे स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।

पूर्वी भ्यालेन्सिया र कास्टेलन प्रान्तका बासिन्दालाई सान्चेजले भने, “अहिले सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकेसम्म धेरै मानिसको ज्यान बचाउनु हो । घरमा रहेका सवै नागरिक केही समय कामलाई थाँती राखैरै भएपनि सुरक्षित रूपमा घरमा नै बस्नुहोस।”

भूमध्यसागरीय आँधीबेहरीका कारण भारी वर्षा र माटोले भरिएको पानीको बहावले मानिस, कार र घरहरू बगाएपछि स्पेनले बिहीबारदेखि तीन दिनको शोकको घोषणा गरेको छ । यो अवधिमा सरकारले कुनै औपचारिक कार्यक्रम नगर्न र देशभरका सरकारी भवनहरूमा झण्डाहरू आधा झुकाएर शोक मनाउन आग्रह गरेका छ ।

एक हजार २०० भन्दा बढी सैनिकको सहयोगमा बिहीबार आपतकालीन सेवाले बाढीसँगै आएको माटोले ढाकिएका सहर र गाउँहरूमा उद्धार कार्य जारी राख्न भग्नावशेषबाट सडकहरू सफा गर्न मद्दत गरेका छन् ।

धेरै मानिस अझै हराइरहेका र केही क्षेत्रहरू बुधबार दिनभर उद्धारकर्ताहरूको पहुँचमा नरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने सरकारी अधिकारीहरूले जनाएका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here