सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो



कैलाली ।  विगतमा शिरदेखि पाउसम्म सुनचाँदीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनी आजभोलि खासै गहना लगाउँदिनन् । ‘विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेजस्तो लाग्यो,’ उनले भनिन्, ‘तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन्।’


घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनः लगाउन नचाहेर पनि गहनाप्रतिकाे मोह घटेको हुन सक्ने बताइन्छ ।

जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ। एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्कोपटक लगाउन मन लाग्दैन । ‘गहनाजस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाखभन्दा बढी पुगेको छ,’ उनले भनिन्, ‘त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।’

गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रूपा साउद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन् । ‘गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन,’ उनी भन्छिन्, ‘तडकभडक नगरेको राम्रो हो । तर, पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।’

सुनचाँदी व्यवसायी प्रवीण साहु विगतमा जस्तो सुनचाँदीको कारोबार नरहेको बताउँछन्। ‘सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ,’ उनले भने, ‘सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here