सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच सहकार्य गर्ने समझदारी



काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदान–प्रदान गरिएको छ।

ललितपुरमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनबीच आइतबार सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा. ओ बोङ याङबीच हस्ताक्षर भएको पाँचबुँदे समझदारीपत्र आदान–प्रदान गरिएको हो।


शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबिच यो समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा पन्तले जानकारी गराएका छन्।

जसमा विश्वविद्यालयको फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदान–प्रदान गर्ने, सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थीहरू आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबिच शैक्षिक सामग्री तथा सूचना आदान–प्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने पाँचबुँदे समझदारी भएको हो।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्राडा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गरेका छन् । समझदारीपत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् ।

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकको रूपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here