सरुमारानीमा प्रभावकारी बन्यो ‘छोरी पेवा बचत कार्यक्रम’



प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

कार्यक्रमबाट गाउँपालिकाका सात सय ४७ छोरी लाभान्वित भएका छन् । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउने उद्देश्यले आर्थिक वर्ष २०७५/७६ देखि उक्त बचत कार्यक्रम सुरु भएको थियो । पालिकाका सवै छोरीलाई शिक्षामा पहुँच पुर्‍याउँदै विभेद कम गर्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । छोरीलाई हेर्ने दृष्ट्रिकोणमा परिवर्तन ल्याउन कार्यक्रम अघि बढाइएको उनको भनाइ छ । 


‘बालबिबाह हटाउन, छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न कार्यक्रम ल्याएका हौँ,’  अध्यक्ष विश्वकर्माले भने । कार्यक्रमले छोरीको बचतमा पहुँच, छोरीलाई औषधि उपचार, पठनपाठनमा राहत मिलेको उनको भनाइ छ । विसं २०७६ पछि जन्मिएका छोरीको नाममा पालिकाभित्रका दुईवटा सहकारीमा रकम जम्मा गरिदिने गरिन्छ । 

आर्थिक वर्ष २०७५/७६ मा ७८ जनालाई रु एक सय प्रतिमहिना दिने गरी सुरु भएको कार्यक्रममा हाल पाँच सय  प्रतिमहिना दिने गरिएको छ ।

प्रत्येक वर्ष एक सयका दरले बढाउँदै १० वर्षसम्म पालिकाले छोरीको नाममा रकम जम्मा गर्ने योजना छ । अभिभावकले त्यसलाई थप गर्दै १० वर्ष रकम जम्मा गरिदिने छन् । छोरीहरु २० वर्षपुगेपछि उक्त रकम निकाल्न मिल्नेछ । कार्यक्रम कार्यान्वयनका लागि पालिकाले कार्यविधि समेत बनाएको छ । 

कार्यक्रम लागु भएपछि अभिभावक समेत खुशी भएका छन् । पालिकाले सुरु गरेको बचतमा अभिभावकले पनि रकम थप गरी बचत गर्ने अभ्यास गरेको सरुमारानी गाउँपालिका–४ सोमैटोलकी मिनाकुमारी सोमैमगरले बताए । उनका एक छोरा र एक छोरी छन् । गाउँपालिकाले कार्यक्रम ल्याएपछि छोरी बचतको पहुँचमा आएकी छन् भने छोरा छैनन् । कार्यक्रमले छोरीलाई सहकारीमा बचत गर्ने वातावरण बनेको उनले बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here