लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती



रामेछाप । लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन् । लुक्ला हुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन् ।

काठमाडौं लगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरू लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन् । मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटक सडक मार्गबाट सोलुखुम्बुतर्फ लागेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् । 


सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम खराब हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमति उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाइँले जानकारी दिए । ‘सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भएपनि त्यसयता फेरि उडान प्रभावित भएको छ, ’उनले भने ।

उनका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टहरुले २८ वटा उडानमार्फत एक सय ३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पुर्‍याएका थिए ।  नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरू रोकिएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here