बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा दुई करोडको क्षति



जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु. दुई करोड  बराबरको भौतिक क्षति भएको छ । साथै सिँचाइ प्रणालीमा पुर्‍याएको क्षतिका कारण सिँचाइको कार्यमा समस्या उत्पन्न भएको  कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए ।

बाढीले सो कार्यालय अन्तर्गत झाँझ सिँचाइ प्रणालीमा रहेका मूल नहर र शाखा नहरको (बैंक) डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोड गरेको र नहरको गेट तथा  हेडवक्र्समा क्षति पुर्‍याएको बताइएको छ । झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिकरुपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ । रौतहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँ ठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो । 


भाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको हो । उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए । समयमा मर्मत नगरेमा त्यहाँ आउँदो हिउँदे बालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था रहेको प्रमुख भगतले बताए ।

उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९/४० बाट सुरु भई २०४४/४५ बाट कार्यान्वयनमा आएको  बताइएको छ । कार्यालय अन्तर्गत सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको प्राप्त विवरणमा उल्लेख गरिएको छ ।  

रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ । अर्थात् सर्लाही तथा रौतहटमा गरी कूल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पुर्‍याउँदै आएको कार्यालयले जनाएको छ । सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटन भन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालय प्रमुख भगतले जानकारी दिए । चालू आर्थिक वर्षमा सो कार्यालयको पुँजीगत खर्च रु. छ करोड तथा चालू गत खर्च रु. एक करोड ११ लाख रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here