बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला



राँझा । बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ । डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला सङ्घ बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिए । 

“विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई बाख्रापालनको माध्यमबाट आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो”, उनले भने, “प्रतिपरिवारलाई तीनका दरले बाख्रा वितरण गरिएको छ ।”


गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र चाँडो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको उनको भनाइ छ ।

बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ । निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानलाई सीप र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक बनाउन प्रोत्साहनका लागि बाख्रा वितरण गरिएको सुनारको भनाइ छ । 

होलिया र हिरमिनियाका गाउँबस्तीमा गठन भएका महिला समूहमा आबद्ध किसानलाई बाख्रापालन परियोजनाअन्तर्गत बाख्रा सहयोग गरिएको अध्यक्ष सुनारले जानकारी दिए । निःशुल्क रुपमा आफ्नै गाउँघरमा तीन बाख्रा पाएपछि स्थानीय खुसी भएका डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्राले बताए । उनले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक उन्नतिमा बाख्रापालन सहयोगी बन्ने अपेक्षा गरे ।

दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत तथा सेवामा पहुँच अभिवृद्धि गर्न समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार संस्थाले सहयोग गर्दै आएको दलित महिला सङ्घकी परियोजना संयोजक दिलासा गौतमले बताए ।

उनका अनुसार दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तीकरण गराउँदै वडा एवं गाउँपालिका स्तरका संरचनामा सहभागी बनाउन जिल्लाको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ सदस्य रहेका ५४ महिला समूह गठन गरेर दलित महिला सङ्घ बाँकेले काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here