कञ्चनपुर । यहाँका दलित समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन थालेका छन् । आफ्नो पेशा व्यवसायले जीविकोपार्जन गर्न नसक्ने स्थिति भएपछि उनीहरू पेशाबाटै विस्थापित हुन थालेका हुन् । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन् । युवाहरू जीविका चलाउन भारतमा दरवान, कुल्ली र अन्य जोखिमयुक्त काम गर्न गइरहेका छन् ।
ऐतिहासिकरुपमा दलित समुदायले बाजा बजाउने, सिलाइकटाइ, जुत्ता बनाउने, माटोका भाँडाकुँडा बनाउने, बेतबाँस, सुनचाँदी, मादल बनाउने, कृषि औजार निर्माण गर्ने, घरायसी रूपमा प्रयोग हुने धातुका भाँडाकुँडा बनाउने काम गर्ने गरेका थिए । तर अहिले यी काममा दलित समुदायको सक्रियता घट्दो छ ।
पुस्तौँदेखिको परम्परागत सीपलाई आधुनिकीकरण गर्न नसक्दा दलित युवाहरू पलायन हुन थालेका दलित अधिकारकर्मी शिवी लुहारले बताए। ‘दलित समुदायले अपनाउँदै आएको पेसा व्यवसाय गैरदलित समुदायले आधुनिक तरिकाले गर्न थालेपछि प्रतिस्पर्धा गर्न नसक्दा पलायन हुनुपरेको छ,’ उनले भने, ‘दलित समुदायको अर्थावस्था कमजोर हुँदा आवश्यक पुँजी अभावमा परम्परागत पेसालाई आधुनिकीकरण गर्न राज्य पक्षबाट सहयोग आवश्यक पर्छ ।’
सरोकार भएका निकायले समयसापेक्ष अधुनिकीकरण गर्न आर्थिक तथा प्रविधिक सहयोग गर्नुपर्नेमा जोड दिँदै लुहारले संरक्षणको अभावमा परम्परागत पेसा संकटमा परेको बताए । दलित समुदायको परम्परागत पेसा हाम्रो धर्म, संस्कृति, कलासँग जोडिएको उल्लेख गर्दै उनले यसलाई आयआर्जनसँग जोडनुपर्ने बताए ।
दलित युवाहरूलाई परम्परागत पेसामा संलग्न गराउन बजारको मागअनुसारको सीप सिकाउनुपर्ने दलित अगुवा लक्ष्मण लुहारले बताए । व्यवसाय सञ्चालनका लागि अनुदानको व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो सहुलियत ब्याजमा ऋण उपलव्ध गराउने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।
‘धार्मिक जात्रासँगै विवाहलगायतका शुभकार्यमा दलित समुदायले पञ्चेबाजा बजाउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ,’ गणेश विकले भने, ‘यस पेसाबाट जीविका चलाउन सकिने अवस्था नभएपछि युवाहरूले पञ्चेबाजा बजाउन छाडदै गएका छन्, त्यो कार्य गैरदलित समुदायले गर्न थालेपछि पुर्खौदेखिको पेसा खोसिएको हो ।’
धातु र माटोका भाँडा बनाउने काम पुस्तौँदेखि दलित समुदायले गर्दै आए पनि हाल बजारमा बाह्य क्षेत्रबाट उद्योगमा निर्माण हुने भाँडाकुँडा सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा पेसा पलायन हुनुपर्ने बाध्यता भएको उनले बताए ।
परम्परागत पेसा व्यवसाय अपनाएकै कारण जातीय रूपमा विभेद हुने गरेको उनको भनाइ छ । कानुनी रूपमा जातीय विभेदलाई दण्डनीय बनाइए पनि समाजमा बर्चस्व भएका व्यक्तिका पक्षमा न्याय गरिँदा पीडितले थप पीडा खेप्नुपर्ने अवस्था रहेको उनले बताए ।
‘सङ्कुचित सोचका कारण प्राविधिक शिक्षालयमा पढ्न टाढाबाट आउने दलित विद्यार्थीले डेरा पाउदैनन्,’ अन्तराम ओडले भने, ‘दलित समुदायका व्यक्तिले पशुपालन गरी उत्पादन गरेको दूध सरकारबाट अनुदान पाउने डेरीले खरिद गर्दैनन्, यस्तो अवस्थामा पुरानो पेसालाई जोगाउन निकै कठिन छ ।
‘दलित समुदायको पेसा व्यवसाय जोगाउन परम्परागत सीपमा परिमार्जन गरी उपभोक्ताको मागअनुसारका वस्तु उत्पादनमा जोड दिन तालिमको व्यवस्था गरिनुपर्छ,’ बेलु नेपालीले भने, ‘तीन तहको सरकारले अनुदान, सहुलियत ऋणको व्यवस्था गरी घरेलु, साना, मझौला उद्योगका रूपमा विकास गरी दलित समुदायका युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरको सृजना गरिनुपर्छ ।’ परम्परागत पेसा व्यवसाय अपनाएका आधारमा जातीय रूपमा विभेद गर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।