नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्यालाई



किमाथांका (सङ्खुवासभा)। यहाँको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको पञ्चकन्या युथ क्लबले जितेको छ।

महेन्द्र माविको खेलमैदानमा आज भएको प्रतियोगिताको फाइनल खेलमा पञ्चकन्याले धनकुटाको चुलाचुली युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।


पहिलो हाफसम्म ०-१ गोल अन्तरमा खेलेको पञ्चकन्याले दोस्रो हाफपछि लगातार दुई गोल गर्दै उपाधि कब्जा गरेको हो। चुलाचुली युवा क्लब धनकुटाले उपविजेतामा चित्त बुझाएको छ। फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले यस्ता प्रतियोगिताले कोशी प्रदेशको खेल क्षेत्रमा सहयोग पुग्ने बताए।

एड्भान्स क्लब मानेभञ्याङको आयोजनामा ‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रतियोगिता यही कात्तिक ७ गतेदेखि सुरु भएको थियो।

प्रतियोगितामा कोशी प्रदेश प्रहरी टिमसहित विभिन्न जिल्लाका १२ क्लबको सहभागिता रहेको थियो। विजयी टिमलाई नगद रु दुई लाख, कप र मेडलले सम्मान गरिएको छ। उपविजेताले नगद रु एक लाखसहित कप र मेडल प्राप्त गरे। त्यस्तैगरी सेमी फाइनलमा पुगेका दुई टिमलाई नगद रु २५/२५ हजार प्रदान गरिएको आयोजक एड्भान्स क्लबले जनाएको छ।

उत्कृष्ट गोलरक्षक चुलाचुली युवा क्लब धनकुटाका निकेश सुन्दास, सर्वोत्कृट खेलाडी पञ्चकन्याका जीवन मगर, सर्वाधिक गोलकर्ता पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लबका जोन जोरी घोषित भए। उनीहरुले नगद र ट्रफी प्राप्त गरे।

आयोजक एड्भान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर प्रतियोगिता गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here