दसैँलाई कोसेली मुस्ताङी स्याउ



म्याग्दी। म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने।

“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो।”


लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ।

बेनीका फलफुल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो। बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताए।

“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उनले भने, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ।

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताइन्।

कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ। स्याउ ब्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए। दसैँमा माग उच्च हुुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन्। चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ। मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here