दलहरुलाई निर्वाचन आयोगको निर्देशन: उपनिर्वाचनमा महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेश गर्नू



काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनमा महिला उम्मेदवार पनि रहनेगरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

बिहीबार आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जारी गरेको विज्ञप्ति अनुसार, गत असोज ३० गते बसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो।


‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेस गर्दा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा संवत् २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेदवार रहने गरी मनोनयन पत्र पेस गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आगामी मंसिर १६ गते देशभरका विभिन्न ४१ स्थानमा उपनिर्वाचन हुँदैछ । ७५३ स्थानीय तहमध्ये २५ वटा पालिकामा मात्र महिलाको नेतृत्व रहेको छ । दलहरुले निर्वाचनमा महिलालाई टिकट दिन कन्जुस्याई गरेको आरोप लाग्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here