थारु बस्तीमा ‘सखिया नाच’ को रौनक



खजुरा । बाँके जिल्लाका थारु समुदाय अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि शुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँ बस्तीको रौनक बढाएको हो ।  

दशैंको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन एक जना गुरुबाको व्यवस्था गरिएको हुन्छ । गाउँका बरघर र भद्र भलादमी यसका संरक्षक हुन्छन् । 


थारु गाउँमा दशैं शुरु भएसँगै सखिया नाचको रौनक शुरु हुने टिटिहिरीयाका थारु अगुवा केवलसिंह थारुले बताए । दिनभरिको काम भ्याइसकेपछि साँझपख नाचिने यो नाच दसैँभरी नाचिने  उनले सुनाए । 

उनका अनुसार यो नाचमा युवती नाच्ने र युवाले मादल बजाउने गर्छन् । जति धेरै मादल बज्यो त्यति रौनक आउँछ । १५ देखि २० जना सखिया नाच्ने युवतीले सेतो रङको फरिया, रातो चोलिया र रातै रङको रिबन लगाउने गर्छन् । 

सखिया नाचमा विशेषतः थारु समुदायको डेमनडौरा, घोटैली, जगनथ्वा, पसिया, कटकटुवा, जिन्गुनी, मदुवा, शिव पार्वती, पाण्डव र कृष्ण लगायत देवी देवतालाई गीतको माध्यमबाट प्रार्थना गरी शान्ति एवम् सुरक्षाको कामना गर्ने चलन रहेको थारु अगुवा एकराज चौधरीले बताए । 

उनका अनुसार थारु पहिरनमा सजिएर नाच्ने युवतीहरुले फेफी, बुलाकी, मगौरी, झुम्का, बिजुलीवाला, कनसेहरी, ऐरम, मङ्गौरी, तरिया, पछेला, गटैया, ततैया, कारा, घुङना, कुकर लगौतीजस्ता थारु संस्कृति झल्किने गहना र गोन्या, चोल्या, फरियाजस्ता पहिरन तथा सात रङले सजिएको मञ्जीरा लगाएर नाच्ने गर्दछन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here