त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा



तनहुँ । गत असोज ११ र १२ गतेको अविरल वर्षा पछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।

त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो । 


बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्ष देखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो । पुल पनि बाढीले जोखिममा परे पछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । उनले भने, “घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।”

दशैं सुरु भए सँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताए । बाढीले गर्दा पुल नै कोल्टिएको छ । यसै बीच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गरेका छन् । 

झोलुङ्गे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताए । उनले भने, “प्राविधिक सहितको टोलीले पुलको अवलोकन गरेको छ, दशैंका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौं ।”

बुद्धसिंह मार्ग अन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौली बाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँ बाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here