तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयपछि जिल्लावासी खुसी



दार्चुला । सरकारले दार्चुलाको त्रिदेशीय सीमा तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेपछि जिल्लावासी खुसी भएका छन् । चीनसँग हुने व्यापार सहजताका लागि तिङ्करमा अध्यागमन कार्यालय खोल्ने निर्णयको जिल्लावासीले स्वागतसमेत गरेका छन् ।

यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने तथा तिङ्करमा अध्यागमन कार्यालय राख्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ ।


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्यास छाङ्गरु खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी गराएकन थिए ।

सीमा प्रशासन कार्यालय व्यास छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज जिल्ला सदरमुकाम खलङ्गाबाट हुँदै आएको थियो । यसले व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्कर जान बहुयात्रा अनुमति पास दिँदै आएको छ । नेपालतर्फ बाटो नहुँदा भारतीय मार्ग प्रयोग गर्दै व्यास जानुपर्ने बाध्यता छ । कार्यालय दुईतिर सञ्चालन गर्नुपर्ने बाध्यता हटाउँदै सरकारले तिङ्करमा अध्यागमन कार्यालय खोल्ने तयारी गरेको छ ।

व्यासको तिङ्करमा अध्यागमन कार्यालय खुल्ने भएपछि स्थानीय राजनीतिक दलका नेता र स्थानीय खुसी भएका छन् । व्यास–१ का स्थानीय नगेन्द्र तिंकरीले भने, “अध्यागमन खोल्ने सरकारको निर्णय स्वागतयोग्य छ, यो जिल्लावासीका लागि खुसीको कुरा हो ।”

यस्तै, पूर्वमन्त्री गणेशसिँह ठगुन्नाले व्यासको तिङ्करमा अध्यागमन खोल्ने सरकारको निर्णय दार्चुलाको विकास र समृद्धिका लागि ऐतिहासिक सफलता भएको उल्लेख गरे । उनले भने, “अब तिङ्कर नाका भएर कैलाश मानसरोवर यात्राको ढोका खुल्यो ।”

व्यास–१ का वडासचिव विनोदसिँह बुढाथोकी सरकारले अध्यागमन खोल्न दरबन्दी स्वीकृत गरेर सीमाका नागरिक खुसी भएको प्रतिक्रिया दिए । “अब यो निर्णय तत्कालै कार्यान्वयनमा आउनुपर्छ”, उनले भने । यसअघि व्यासको छाङ्गरुमा सीमा प्रशासन कार्यालय रहे पनि नागरिकले सेवा लिन सदरमुकाम खलङ्गा आउनु परेको थियो ।

हाल तिङ्करमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि बसिसकेको अवस्थामा अध्यागमन कार्यालय सञ्चालन भएपछि यस क्षेत्रको विकासमा सहयोग पुग्ने उनको विश्वास छ । व्यासको तिङ्कर नाका भएर चीनको ताक्लाकोट व्यापार हुँदै आएको छ । पछिल्लो समय कोभिडपछि यो वर्ष तिङ्कर नाका खुलेको छ । छाङ्गरुका र तिङ्करका स्थानीय अहिले ताक्लाकोटमा व्यापार गर्ने गर्छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here