तयारीबिना एमालेजस्तो संगठित संस्थासँग चुनावमा भिडेर जान कठिन हुन्छः कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग भिडेर जान कठिन हुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको उल्लेख गर्दै यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको बताएका हुन् ।


उनले राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाँड्ने प्रचलन रहेको कारण समस्या भइरहेको बताए ।

उनले भने, ‘अहिले सबै पार्टीहरु एक्लाएक्लै चुनाव लड्ने भनिरहेका छन् । हामीले त झन भनिनै रहेका छौं यो राजनीतिक दलहरुको रणनीतिक चाल हो । एक्लाएक्लै लड्ने हो भने हामीले तयारी त गर्नुपर्यो नि । तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो भनाई हो ।’

त्यस्तै, उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भएपनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताए । सहमति अुनसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्ने बताए ।

उनले भने, ‘उहाँहरुबीचको सहमति अनुसार दुईवर्ष केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि शेरबहादुरजीले चुनाव गराएर जाने कुरा छ । कांग्रेसको चाहना पनि त्यही हो । तर, हामीहरुको प्रतिस्पर्धीं एमाले हो, सहकार्य पनि एमालेसँगै गर्नुपरेको छ । हामीलाई अफ्ठ्यारो त्यहाँ परेको छ । सरकारमा बसेकाहरुले सहकार्य गरुन् त बाहिर हामीहरु छौं । हामीहरुले प्रतिस्पर्धीको रोल पनि खेल्नुपर्छ । होइन भने एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here