ढोरपाटन र मुस्ताङका पर्यटकले बागलुङका होटल भरिभराउ



गलकोट (बागलुङ) । चाडपर्वको छेकोमा पर्यटकीयस्थलको भ्रमण गर्ने चलन बढ्दै आएको छ । त्यसैमाथि दसैँ र तिहारको बीचमा ढोरपाटन र मुस्ताङ नजाने कुरै भएन । अहिले बागलुङको ढोरपाटनसहितका पर्यटकीयस्थल र मुस्ताङ पुग्ने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुन थालेका छन् ।

कालीगण्डकी करिडोरअन्र्तगत बालढुङ्गादेखि बेनी जाने सडक निर्माणाधीन भएकाले बागलुङ–बेनी हुँदै मुक्तिनाथ जाने पर्यटकको सङ्ख्या बढेपछि बागलुङका होटल भरिभराउ हुन थालेका छन् । दसैँ सकिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको बागलुङका पर्यटन व्यवसायी बताउँछन् । विशेषगरी बागलुङको कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, पञ्चकोट र शालग्राम शिलाका कारण बागलुङमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । दसैँ र तिहारका बीचमा मुस्ताङ जाने याम भएकाले मुस्ताङ हिँडेका केही पर्यटकसमेत बागलुङमा थप समय बिताउन थालेका हुन् ।


विशेषगरी भारतीय तीर्थयात्रीको महत्वपूर्ण धार्मिक गन्तव्य बनेको मुस्ताङको मुक्तिनाथ पुग्ने पर्यटकलाई बागलुङका धार्मिकस्थलले आकर्षित गर्न थालेपछि यहाँका होटल भरिभराउ हुन थालेको पाइएको छ । पछिल्लो समय मध्यपहाडी राजमार्गले पश्चिम क्षेत्रका पर्यटकसमेत बागलुङ आउन थालेका हुन् ।

दाङ, सुर्खेत, तुल्सीपुर, नेपालजञ्जलगायत क्षेत्रबाट मुस्ताङ आउने पर्यटक बागलुङ बस्न आउने गरेको पाइएको बागलुङका होटल व्यवसायी तथा होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताए । “पोखरा, काठमाडौँ, चितवनबाट आउने पर्यटक थोरैमात्र बागलुङ बस्दछन्, उनीहरु सोझै कालिका मन्दिर पसेर मुस्ताङ पुग्छन्”, चोखालले भने, “मध्यपहाडी लोकमार्ग कालोपत्र भएसँगै नेपालको रुकुम, दाङ र नेपालगञ्जजस्ता जिल्लाबाट ढोरपाटन, कालिका मन्दिर र मुक्तिनाथ जान आउनेहरुको गन्तव्य बागलुङ बनेको छ ।”

जिल्लामा आकर्षक गन्तव्यस्थलका रुपमा रहेका नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश प्रसिद्ध बागलुङ कालिका र सर्वसिद्धिधाम पञ्चकोट, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालय लगायतले बागलुङको पर्यटन चलायमान बनाएको छ । चोखालले दसैँ सकिएपछि मात्रै बागलुङका होटलमा पर्यटकको चाप बढेको बताए । बागलुङमा पर्यटकको चाप बढेपछि होटलमा समेत लगानी थपिएको चोखालले जानकारी दिए ।

अहिले बागलुङ कालिका मन्दिर तथा पञ्चकोट परिसरमा रहेको पार्किङस्थलमा मुक्तिनाथ दर्शन लेखेका सवारीसाधन बाक्लै देखिने गरेको छन् । मुस्ताङको मुक्तिनाथ दर्शन गरेर फर्कने क्रममा कालिका भगवती मन्दिर र पञ्चकोट दर्शनका लागि आउने गरेको कालिका मन्दिरका अध्यक्ष कुमार खड्काले बताए ।

दसैँपछि मन्दिरको पार्किङस्थल पर्यटकका सवारीसाधनले भरिएर वैकल्पिक व्यवस्थापन मिलाइएको खड्काको भनाइ छ । बागलुङमा बढिरहेका पर्यटकीय गन्तव्य, होटलको स्तरीकरण र प्रचारप्रसारका कारण मुस्ताङ पुग्ने पर्यटकमध्ये केहीले बागलुङलाई गन्तव्य बनाउन थालेका छन् ।

मुस्ताङ जाँदा वा फर्कने क्रममा तीर्थयात्री, आन्तरिक तथा बाह्य पर्यटक बागलुङको कालिका र पञ्चकोट दर्शनका लागि आउनेक्रम बढेको हो । टाढाबाट आएका पर्यटक बागलुङका होटलमा बसेर अर्को दिन सिधै मुक्तिनाथ पुग्न सकिने भएपछि स्थलमार्ग प्रयोग गर्ने अधिकांशले बागलुङको मार्ग रोज्न थालेका छन् । दसैँको पूर्णिमादेखि आफ्नो होटलको शतप्रतिशत कोठा पर्यटकले भरिभराउ भएको होटल दि राजका सञ्चालक एन्जिल शाक्यले बताए ।

“दसैँअघि पर्यटक खासै थिएनन्, कात्तिकको १ गतेपछि भने हाम्रो होटलको एउटा कोठासमेत खाली छैन, यहाँ आएका पर्यटकलाई अन्य होेटलमा पठाउँदै आएको छु, सुविधा सम्पन्न होटलमा पर्यटक भरिएका छन्”, शाक्यले भने, “पछिल्लो समय ढोरपाटन, मुस्ताङ र कालिका मन्दिर आउने पर्यटक नै हाम्रो होटलमा आउने गरेको पाइन्छ ।”

बागलुङसमेत पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण मानिँदै आएको छ । पछिल्लो समय बागलुङमा दुई दर्जनभन्दा बढी सुविधा सम्पन्न होटलमा आन्तरिक पर्यटक बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here