चितुवाको त्रासमा सिमलघारीवासी



बाँके । चितुवाले घरमा आएर मानवीय क्षति पुर्‍याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन् । स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन् ।

गत भदौ ३० गते घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेका स्थानीय विनोद शाहीले बताए । ‘चितुवाले यसअघि पनि पटक पटक खोरमा राखेका बाख्रा तान्ने गरेको थियो, अहिले मान्छे तान्न थाल्यो’, उनले भने, ‘घरको आँगनमा खेल्दै गरेकी बालिकालाई चितुवाले लगेपछि असुरक्षा बढेको छ ।’


बालिकाको घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको गिजरा सामुदायिक वनको जङ्गलमा टाउको र एउटा खुट्टा फेला परेको थियो । सिमलघारी बस्ती नजिकै मानखोला किनारमा गिजरा सामुदायिक वन पर्दछ । मानखोला पारी बर्दिया जिल्लातर्फ ठूलो जङ्गल रहेकाले राति जङ्गली जनावर मानव बस्तीमा आउने गरेका खजुरा–६ का वडाध्यक्ष फारुख शेषले बताए ।

जङ्गली जनावरका कारण स्थानीयवासी एक्लै हिँडडुल गर्न, घरायसी काममा निस्कन, दाउँरा, घाँस गर्नसमेत डराउनुपर्ने स्थिति आएको उनले उल्लेख गरे । गिजरा वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि स्थानीयको त्रास घटेको छैन । गत भदौमा बालिकाको चितुवाले ज्यान लिएपछि डिभिजन वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिन खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो । खोजतलासका क्रममा हालसम्म दुई चितुवा खोर (केज) मा परेका डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए । सामुदायिक वनमा अझै पनि चितुवा देखिएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । 

गत असोज १८ गते र २५ गते दुई चितुवा नियन्त्रणमा लिई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए । उनका अनुसार चितुवालाई नियन्त्रणमा लिन असोज १ गतेदेखि वन क्षेत्रमा तीन वटा फलामको खोर र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिएको थियो । उनका अनुसार एक हप्ताभित्र दुई चितुवा नियन्त्रणमा आएका छन् ।

बाँके र बर्दियाको सीमावर्ती क्षेत्र मानखोलाको किनारमा पर्ने गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् । दुईवटा चितुवा नियन्त्रणमा आएपछि केही राहत महसुस भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए । वन क्षेत्रमा अझै चितुवा रहेकाले खोजी नियन्त्रणमा लिने प्रयास भइरहेको भन्दै उनले स्थानीयलाई आवश्यक सर्तकता अपनाउन आग्रह समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here