चक्रवात दाना भारतको तटीय क्षेत्रमा बज्रियो



बीबीसी । बङ्गालको खाडीमा विकसित चक्रवात दाना ओडिशाको तटीय क्षेत्रमा बज्रिन थालेको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी)का अधिकारीहरूले यो प्रक्रिया अझै जारी रहने बताएका छन् ।

आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार उक्त समुद्री आँधी विगत ६ घण्टा १५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको र केन्द्रपाडा जिल्लाको भीतकर्णिका र भद्रक जिल्लाको धमराको बीचमा पुगेको जनाएका छन् । त्यो बेला वायुको गति झन्डै ११० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।


‘सिभिअर साइक्लोनिक स्टोर्म’ को वर्गमा राखिएको यो चक्रवात जमिनमा प्रवेश गर्ने प्रक्रिया दुई घण्टाजति चल्ने र त्यसपछि यो पश्चिम र पश्चिमोत्तर हुँदै उत्तर ओडिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

अपरान्हतिर शक्ति क्षीण भई यो समुद्री आँधी साइक्लोनिक स्टोर्म’को वर्गमा घटुवा हुने भारतको मौसम विज्ञान विभागले जनाएको छ। भद्रकमा कतिपय ठाउँमा रूख ढलेका छन् भने सडक बन्द छ। त्यहाँ ‘रेड अलर्ट’ जारी गरिएको छ चक्रवात दानाका कारण पश्चिम बङ्गालको तटीय क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ ।

दानाले भीषण रूप लिन सक्ने आशङ्कामा दुवै राज्यमा सरकारी संयन्त्रहरू उच्च सतर्कताको अवस्थामा छन् । ओडिशाका मुख्यमन्त्री मोहन माझीले आफ्नो सरकार कुनै पनि परिस्थिति सामना गर्न तयार रहेको बताएका थिए । साथै उनले बाढीबाट निम्तिन सक्ने प्रभाव कम गर्न पर्याप्त उपाय अपनाइएको जनाएका थिए ।

ओडिशाको कुल जनसङ्ख्यामध्ये आधा यो समुद्री आँधीबाट प्रभावित हुन सक्ने ठानिएको छ । ओडिशा सरकारले दाना प्रभावित क्षेत्रबाट सारिएका मानिसलाई राख्न ७ हजार २०० वटा आश्रयस्थल निर्माण गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here