कृषि उपकरण मर्मत गर्न दक्ष जनशक्ति उत्पादन



कञ्चनपुर । कृषिमा प्रयोग हुने उपकरण मर्मत गर्न दक्षजनशक्ति उत्पादन गरिएको छ । पावर टिलर, मिनी टिलर, पानी तान्ने मोटर, पम्पसेट मर्मत गर्न तीन जिल्लाका २५ युवालाई तालिम दिइएको हो ।

नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ (नामिया)को सहकार्यमा अमेरिकी सहयोग नियोग (युएसआईडी)को सहयोगमा स्थानीय प्राविधिकलाई कृषि तथा सिँचाइका यन्त्र मर्मत गर्नेसम्बन्धी तालिम दिइएको छ । आरसिटी मेसिनरी एण्ड इन्जिनियरिङ वर्कशप झलारीमा कैलाली, कञ्चनपुर र बर्दियाका युवालाई दश दिने तालिम दिइएको हो ।


सहभागीले कृषियन्त्र मर्मतसँगै थोपा सिँचाइ प्रविधिको प्रयोग र जडानसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गरेको सङ्घका उपाध्यक्ष सुनिता न्हेमाफुकीले बताए । उनका अनुसार तालिममा २२ पुरुष र तीन महिला सहभागी थिए । तालिममा १० वटा सैद्धान्तिक र ३० वटा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो ।

वैदेशिक रोजगारबाट फर्केका महिला, सीमान्तकृत समूह तथा कृषि मेसिनरीसम्बन्धी सामान्य ज्ञान भएका युवा तालिममा सहभागी थिए । “स्थानीयस्तरमा तालिम दिएर दक्ष बनाइएका प्राविधिकले दिगो कृषि यान्त्रीकरणमा टेवा पु(याउने विश्वास लिएका छौँ”, उपाध्यक्ष न्हेमाफुकीले भने, “एक पालिका एक कृषि मेसिनरी वर्कसप स्थापना गर्ने उद्देश्य अनुरूप दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छौँ ।”

तालिम यही कात्तिक ३ गते देखि सुरु भई १२ गते समापन गरिएको छ । तालिम समापनमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले दक्ष बनेका युवाले किसानलाई प्रभावकारी सेवा दिनुपर्ने बताए । “मन्त्रालयबाट किसानलाई अनुदानमा २५ हजारको सङ्ख्यामा पावर टिलर र मिनी टिलर उपलव्ध गराएका छौँ”, उनले भने, “दश हजार बढी सिँचाइका लागि प्रयोग हुने विद्युतीय मोटर र पम्पसेट उपलव्ध गराएका छौँ ।”

यसअघि ‘फिड द फ्युचर’ नेपाल र युएसआइडीको ‘एग्रीकल्चर इनपुटस’को आयोजनामा नेपालगञ्ज र धनगढीमा दुई वटा कृषि औजार मर्मत सम्भार सम्बन्धी तालिम सम्पन्न भइसकेका छन । तालिममार्फत ५० दक्ष जनशक्ति उत्पादन भएको जनाइएको छ ।