काम गर्ने अधिकार नदिए दशैंपछि सरकारमा नरहने ना.उ.पा.को चेतावनी



कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा नेता रेशम चौधरीले सत्ता गठबन्धनलाई दशैंपछि आफ्नो दल सरकारमा नरहने चेतावनी दिएका छन् ।

मंगलवार  आफ्नो भिडिओ सन्देश मार्फत आफ्ना पार्टीका मन्त्रीहरूलाई काम गर्ने वातावरण सृजना नगरिदिएको र अधिकार नदिएको भन्दै उनले सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् ।


नाउपाले केन्द्र सरकारमा पर्यटन राज्यमन्त्री पाएको छ । अरुण कुमार चौधरी राज्यमन्त्रीको जिम्मेवारीमा छन् । तर कामविहीन बनाइएको गुनासो उनको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी छन् । नाउपाका नेताहरुका अनुसार सुदूरपश्चिम सरकारमा राज्यमन्त्री पनि पाउने सहमति भएको थियो । तर अहिलेसम्म नपाएको गुनासो पनि नाउपाको छ । चौधरीले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक हुँदा हुँदै अधिकार नदिएको बताए  ।

यसैगरी लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री दिने मौखिक समझदारी भएको थियो । तर, त्यो पनि कार्यान्वयन नभएको नाउपाको भनाइ छ ।‘यस्तै अवस्था हो भने सरकारमा किन बसिरहने ?’ नाउपा अध्यक्ष रेशम चौधरी भन्छन्, ‘काम गर्ने वातावरण दिने र समझदारी कार्यान्वयन गर्ने हो भने ठिकै छ । नत्र भने सरकारबाट बाहिरिन्छौं ।’ सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राख्ने उनको भनाइ छ ।

सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्र विवाद हुँदा श्रीमती रञ्जिता र आफूबीचको विवाद पनि छताछुल्ल भएको उनले बताए । विगतमा कुर्सीका निम्ति भएको हानथापलाई रोक्न नसकेको बताउँदै उनले अब भने विवाद मत्थर भएको जिकीर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here