काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता



काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका छन् । जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन् ।

अविरल वर्षाका कारण आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सञ्जिव विष्टले जानकारी दिए । उनका अनुसार घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो । बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचाररार्थ भक्तपुर लैजानुपरेको थियो ।


वर्षाका कारण आज बिहान दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन् । बहिनी पातालीको घरमा मकै भाँच्ने काममा धुल्खुबाट सघाउन आएका थिए । घटनापछि प्रहरी चौकी नारायणस्थानबाट उद्धार भइरहेको बताइएको छ ।

यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ । वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आँउदा उनी पुरिएका हुन् । च्याल्टीमा खोला ठूलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातिदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन् । यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन् । बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहिन अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ ।

यसैगरी पनौतीकै १२ नं वडास्थित कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा चार जना पुरिएकामा तीन जनालाई जिवितै उद्धार गरिएको छ भने एक जना अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ । पनौती–१२ थुम्की डाँडामा पहिरोको जोखिममा परेका करिब एक सय जना उद्धारको पर्खाइमा बसेको जनाइएको छ । मण्डनदेउपुर नपा–१२ स्थित काफलचौर ५ घर र ३ नं वडाको बयरबोटमा एक घर जोखिममा परेको तथा रोशी गाउँपालिकास्थित विपी राजमार्गमा पर्ने नार्के बजारमा सडक छेउका दुई घर पहिरोमा परी बगाएको छ ।

मण्डनदेउपुरकै कोदारीभिरमा पहिरो खसेपछि हेलम्बू राजमार्गको जिरोकिलो कुन्ताबेसी–मेलम्ची सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । नगरप्रमुख टोकबहादुर वाइबाले राजमार्ग खुलाउने तथा जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जानकारी दिए ।

अविरल वर्षाका कारण काभे्रपलाञ्चोकको रोशीस्थित चिउरीबासमा रोशी खोलाको बाढीले आज मध्यान्ह करिब १०० मिटर सडक बगाएको छ । यस्तै खहरे खोलाको लेदो तथा सडक बगाउँदा रोशीस्थित विपी राजमार्गको दुई स्थानमा शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएको छ । यस्तै अरनिको राजमार्गअन्तर्गत बनेपास्थित पुलबजार डुबान हुँदा यातायातका साधान रोकिएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here