एमाले लतिपुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार ध्यानाकर्षणपत्र बुझाउँदै नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी, पहिरो र डुबानका कारण उत्पन्न स्थितिबाट जनजीवनलाई सहज र पूर्ववत् बनाउन आग्रह गरेको छ । जिल्ला कमिटीका पदाधिकारीहरुले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास, बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

मनसुनजन्य विपत्तिलगत्तै सरकारले प्रभावकारी रुपमा खोज, उद्धार र राहतका काम गरेको उल्लेख गर्दै अबका दिनमा ललितपुरसँग जोडिएका राजमार्ग, ठूला सडक, विद्युत् र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि पहल गरिदिन जिल्ला कमिटीले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ ।


जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले प्राकृतिक विपद्बाट जिल्लामा ४६ जनाको मृत्यु, पाँच जना बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको सो अवसरमा जानकारी दिए । बाढी पहिरो र डुबानबाट जिल्लामा दुई सय १२ परिवार विस्थापित भएको उनले बताए । ललितपुरको पुनः निर्माणका लागि कम्तीमा तीन अर्ब बजेट विनियोजन गर्न अध्यक्ष आचार्यले प्रधानमन्त्री ओली समक्ष माग गरे ।

ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्री ओलीले सरकारले खोज, उद्धार र राहत तथा पुनः व्यवस्थापनका काम प्रभावकारीरुपमा गरिरहेको उल्लेख गर्दै गत वर्ष जाजरकोटमा गएको भूकम्पबाट प्रभावितको दोस्रो किस्ता बाँकी रहेको अवस्थामा वर्तमान सरकारले निकासा दिन थालेको जानकारी दिए । उनले हुँदै नभएका कमजोरीलाई पनि कमजोरी देखाएर गलत प्रचार गर्ने शैली हुन नहुनेमा जोड दिए ।

सो अवसरमा एमाले बागमती प्रदेशका इञ्चार्ज डा राजन भट्टराई, केन्द्रीय सदस्यहरु सुशीला नेपाल, हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, रुपनारायण श्रेष्ठ, बागमती प्रदेश कमिटी सचिव नवराज सिलवाललगायत सहभागी थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here