काठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उनीहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाएका हुन् ।
ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिरहेको जानकारी दिए । ‘उनीहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ,’ उनले भने, ‘एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।’
फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गरेका छन् । मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गरे ।
उनका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताए । मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ । ‘उनको कलाले वरपर पाइने, वस्तुहरु, जनावर, बोटबिरुवा, ढुङ्गालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ,’ उनले भने ।