उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन



सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् ।

दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूलाई तीन हजार उत्तर कोरियाली सैनिकले त्यहाँ ड्रोन र अन्य उपकरणको तालिम लिइरहेको र युक्रेनको युद्धभूमिमा खटाइने तयारी भइरहेको जानकारी दिएलगत्तै उनले यस्तो बताएका हुन् ।


रोम भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै भने,“उनीहरूले ठ्याक्कै के गरिरहेका छन् ? त्यो हेर्न बाँकी छ । यी कुराहरू हामीले पत्ता लगाउनु पर्ने विषय हुन् ।”

“यदि ती सैनिकहरूले रुसको पक्षमा युक्रेन युद्धमा भाग लिए भने यो ‘धेरै गम्भीर मुद्दा’ हुनेछ”, यसले युरोप र इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने उल्लेख गर्दै उनले भने ।

दक्षिण कोरियाली गुप्तचर निकायले यसै महिना रुसी नौसेनाले एक हजार पाँच सय उत्तर कोरियाली विशेष युद्ध सैनिकलाई रुस लगेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसअघि १० हजार उत्तर कोरियाली सैनिकलाई रुसी आक्रमणकारी सेनामा सामेल हुन तयार पारिँदै गरेको गुप्तचर जानकारी आफ्नो सरकारसँग रहेको बताएका थिए ।

अमेरिका र नाटोले यसअघि उत्तर कोरियाको कथित सैनिक प्रेषणलाई औपचारिक रूपमा पुष्टि गरेका थिएनन् तर यदि यो सत्य भएमा त्यस्तो विकासको खतराबारे चेतावनी दिएका थिए । रुस र उत्तर कोरियाले अहिलेसम्म सैनिक आवागमनको खण्डन गर्दै आएका छन् ।

दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) का निर्देशक चो ताए–योङले बुधबार सांसदहरूलाई अर्को एक हजार पाँच सय उत्तर कोरियाली सैनिक रुस प्रवेश गरेको जानकारी दिएको ब्रिफिङमा सहभागी सांसद पार्क सनवानले बताए ।

चोले सांसदहरूलाई उनको एजेन्सीले उत्तर कोरियाले डिसेम्बरसम्ममा रुसमा कूल १० हजार सैनिक तैनाथ गर्ने लक्ष्य राखेको मूल्याङ्कन गरेको जानकारी दिएको पार्कले पत्रकारहरूलाई बताए ।

पार्कले चोलाई उदृत गर्दै भने, “रुस पठाइएका तीन हजार उत्तर कोरियाली सैनिकलाई विभिन्न सैन्य आधारमा विभाजन गरिएको छ र तालिममा छन् ।” उनका अनुसार चोले सांसदहरूलाई ती सैनिकलाई अझै युद्धमा तैनाथ नगरिएको एनआइएसको विश्वास रहेको बताए ।

एनआइएस ब्रिफिङबारे पार्कसँगै बोल्दै सांसद ली सियोङ क्वेउनले एनआइएसले रुसी सेनाले अहिले ती उत्तर कोरियाली सैनिकहरूलाई ड्रोन जस्ता सैन्य उपकरण प्रयोग गर्न सिकाइरहेको पत्ता लगाएको बताए ।

लीले एनआइएस प्रमुखलाई उदृत गर्दै भने, “रुसी प्रशिक्षकहरूले उत्तर कोरियाली सैनिकहरूको मनोबल र शारीरिक क्षमताबारे उच्च धारणा राखेका छन् तर आधुनिक युद्धको बुझाइको कमीले गर्दा उनीहरूले अन्ततः भारी क्षति बेहोर्नेछन् भन्ने सोच्छन् ।” रुसले ठूलो सङख्यामा दोभाषेहरू भर्ती गरिरहेको चोलाई उदृत गर्दै लीले भने ।

एनआइएस प्रमुखले सांसदहरूलाई उत्तर कोरियाले आफ्ना जनतालाई सैनिक प्रेषणबारे खुलासा नगरेको बताए ।

युक्रेनी सैन्य गुप्तचर निर्देशनालयका प्रमुख किरिलो बुदानोभले युक्रेनी घुसपैठको सामना गरिरहेका रुसी सैनिकहरूलाई सहयोग गर्न उत्तर कोरियाली सैनिकहरू आज रुसको कुर्स्क क्षेत्रमा आइपुग्ने अनलाइन सैन्य समाचार आउटलेट द वार जोनलाई जानकारी दिए ।

पश्चिमसँग छुट्टाछुट्टै द्वन्द्वमा फसेका उत्तर कोरिया र रुसले विगत दुई वर्षमा आफ्नो सहकार्य तीव्र रूपमा बढाउँदै आएका छन् । जुनमा उनीहरूले एक प्रमुख रक्षा सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार कुनै एक देशमाथि आक्रमण भएमा तत्काल सैन्य सहायता प्रदान गर्न सबै उपलब्ध माध्यमहरू प्रयोग गर्न दुवै देशलाई आवश्यक बनाउँछ ।

उत्तर कोरियाले सन् २०२३ अगस्टदेखि रुसको घट्दो हतियार भण्डार पुनःपूर्ति गर्न १३ हजारभन्दा बढी कन्टेनर तोपखाना, क्षेप्यास्त्र र अन्य परम्परागत हतियारहरू रुसमा पठाएको एनआइएसले गत हप्ता बताएको थियो ।

उत्तरले रुसमा सैनिक पठाइरहेको रिपोर्टले दक्षिण कोरियामा सुरक्षा चिन्ता बढाएको छ । रुसले उत्तर कोरियालाई परिष्कृत हतियार प्रविधिहरू दिएर पुरस्कृत गरेर दक्षिण कोरियालाई लक्षित गर्ने उत्तरको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूलाई बढावा दिन सक्ने दक्षिण कोरियालीहरूले चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण कोरियाले मङ्गलबार उत्तरको कथित सैनिक प्रेषणको जवाफमा युक्रेनलाई हतियार आपूर्ति गर्ने विचार गर्ने बताएको छ । दक्षिण कोरियाले युक्रेनलाई मानवीय र वित्तीय सहयोग पठाएको छ तर सक्रिय रूपमा द्वन्द्वमा संलग्न देशहरूलाई हतियार नदिने आफ्नो नीति अनुरूप अहिलेसम्म युक्रेनलाई सिधै हतियार आपूर्ति गरेको छैन ।

उत्तर कोरियासँग १२ लाख सैनिक छन् । यो विश्वकै सबैभन्दा ठूला स्थायी सेनाहरूमध्ये एक हो । यद्यपि १९५०–५३ को कोरियाली युद्धपछि यसले ठूलो स्तरको द्वन्द्व लडेको छैन ।

धेरै विशेषज्ञहरूले युद्ध अनुभवको कमीलाई औंल्याउँदै उत्तर कोरियाली सैनिकहरूले रुसलाई कति मद्दत गर्नेछन् भन्ने प्रश्न गरेका छन् । उनीहरूका अनुसार उत्तर कोरिया रुसी आर्थिक सहयोग र आफ्ना पुराना परम्परागत हतियार प्रणालीहरूको आधुनिकीकरणमा मद्दतका साथै उच्च प्रविधियुक्त हतियार प्रविधि हस्तान्तरण चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here