आजदेखि रसुवागढी–केरूङ राजमार्ग सञ्चालनमा ल्याइँदै



काठमाडौं । अविरल वर्षाका कारण बन्द एक महिनादेखि बन्द रसुवागढी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग आजदेखि सञ्चालनमा ल्याइँदै छ।

अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने चिनियाँ पक्षले तयारी गरेको जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी बताए।


राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको प्रजिअ पौडेलले बताए।

रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो। सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रोकिएका छन् ।