अविरल वर्षाबाट रु १५ करोड बराबरको पुष्पखेतीमा नोक्सान



काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुगेको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।

फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।


गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।

अध्यक्ष बादेका अनुसार बजार मागअनुरुप नै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।