हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु



टक्सार (भोजपुर) । ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका– १०, साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराँती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रूपमा नयाँ बन्ने घरको शिलान्यास गरे ।


458576732_1082591729902987_5193292708106506712_n-1725527463.jpg
गेसोका अध्यक्ष राईले आफ्नो पुर्ख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिएका छन् । करिब १५ लाख मूल्यबराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो ।

उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँचकोठे घर निर्माण गरिनेछ । घर निर्माण गर्न सांसद किराँतीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइनेछ ।

लगभग ३३ वर्ष हराएका ४३ वर्षीय तामाङ गत शनिबार षडानन्द– १०, साङपाङको छाप्लेगाउँस्थित बाबुआमासँग बस्दै गरेको घर आइपुगेका थिए । आगामी दिनमा बाबुआमासँगै बसेर खेती किसानी गर्ने उद्देश्य रहेको प्रकाशले बताए । प्रकाशका लागि अहिले सहयोगी निकायबाट विभिन्न सहयोग हुँदै आइरहेको छ ।