सप्तरीको दक्षिणी भेगमा दुई सय घर डुबानमा



सप्तरी । अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँका करिब दुई सय घर डुबानमा परेका छन् ।

दक्षिणी भेगका तिलाठी कोइलाडी गाउँपालिकाको लोनियाँ, सकरपुराको बरसाइन, बनरझुला, कुशाहा र रम्पुरा मल्हनियासहित आधा दर्जन गाउँका दुई सय बढी घर डुबानमा परेका गाउँपालिकाका विप्द व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । 


उनका अनुसार   पालिकाको वडा नं ७ लपटोलीयाँ सरदार बस्तीमा जिता खोलाको बाढी पस्दा १५ घर डुबानमा परेको छ । सोही गाउँपालिका–५ को बरसाइनमा एक सय घर डुबानमा परेका छन् । यस क्षेत्रमा जिता, कोशी, मोहुली खोलामा आएको बाढी पसेर ती घर डुबानमा परेका जनाएको छ । 

यस्तै, वडा नं ३ सकरपुरामा समेत एक सय घर डुबानमा परेका छन् । होचो जमिन र पानी निकासी हुने बाटो नभएकाले डुबान भएको गाउँपालिकाले जनाएको छ  । यस क्षेत्रमा किसानले लगाएका धान बालिमा समेत ठुलो क्षति पुगेको छ ।

सप्तरीमा चुरे क्षेत्र हुँदै बग्ने खाँडो, मोहुली, जिता, त्रियुगा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण हरेक वर्ष अधिकांश गाउँ डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तकोशी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी, राजविराज नगरपालिकाका साथै अग्निसाइर कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ बस्ती प्रत्येक वर्ष डुबानमा पर्ने गरेका छन् । 

यसैबीच, मधेस र कोशी प्रदेशको सीमामा पर्ने कोशी नदिमा पानीको बहाब बढिरहेकाले सर्तक रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ । कोशी ब्यारेजमा पानीको बहाब बढेका कारण ५६ वटै ढोका खोलिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here