संस्कारमुखी शिक्षामा जोड



गण्डकी । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले संस्कारमुखी शिक्षा आवश्यक रहेकामा जोड दिएका छन् ।

शिक्षा विकास निर्देशनालय पोखराद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा कक्षा १० को अभिलेख संशोधन र शैक्षिक तथ्याङ्कसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले घोकन्तेभन्दा संस्कारमुखी शिक्षा आवश्यक रहेको बताए ।


मन्त्रालयले यस आर्थिक वर्षको बजेटमा व्यावसायिक र नैतिकवान् शिक्षालाई जोड दिएको बताउँदै उनले ‘फ्राइडे फर फ्युचर’, सिक्दै कमाउदै, अभिभावक शिक्षालगायत कार्यक्रमलाई समेटिएको जानकारी दिए । यी कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि उनले निर्देशन दिए ।

शिक्षा क्षेत्रमा सुधार ल्याउन अभिभावकमुखी शिक्षा आवश्यक भएको उनको भनाइ छ । उनले भने, “मन्त्रालयले राखेको अभिभावकमुखी शिक्षा नयाँ कार्यक्रम हो । यसलाई प्रभावकारी बनाउन आवश्यक छ । शैक्षिक क्षेत्रलाई सुदृढीकरण गर्न यस्ता कार्यक्रमले मद्दत पुग्छ ।”

तथ्याङ्कको विश्वसनीयतामा शङ्का नआउनेगरी यथार्थपरक तथ्याङ्क उपलब्ध गराउनुपर्ने बताउँदै उनले तीनवटै तहको सरकार मिलेर शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने धारणा राखे ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले कक्षा १० का विद्यार्थीको ‘सर्टिफिकेट’मा नामथर, जन्ममितिका बारेमा ध्यान दिन आवश्यक रहेको बताए ।

यसका लागि अभिभावकमुखी शिक्षा प्रभावकारी हुने बताउँदै उनले सही तथ्याङ्कको आवश्यकतामा जोड दिए । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव तोयानाथ लम्सालले प्रदेशस्तरमा शैक्षिक तथ्याङ्कको विश्वसनीयता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । मन्त्रालयले बिग्रँदो, हराउँदो संस्कारलाई परिवर्तनगरी समाज र व्यक्ति सुधार गर्न शिक्षा क्षेत्रमा नयाँ कार्यक्रम ल्याएको उनले बताए ।

मन्त्रालयअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका विभिन्न कार्यालयलाई प्रभावकारी बनाउन साझेदारी मोडलमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

शिक्षा निर्देशनालय पोखराका प्रमुख अम्बिका आचार्यले मुस्कानसहितको गण्डकी प्रदेश बनाउन शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन विविध कार्यक्रमको आयोजना गर्दै आएको बताए । शुक्रबार सम्म चल्ने कार्यक्रममा ११ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखहरू र ८५ वटै पालिकाका शिक्षा, युुवा तथा खेलकुद शाखाका प्रमुखहरूको सहभागिता छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here