संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार अपरान्ह स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले बाढी आउने कुरालाई रोक्न नसकिने र सरकारले आफ्नो बुताअनुसार गरेको र अझै गर्ने बताएका हुन् । उनले अहिले विरोध गर्ने समय नभएको पनि बताए ।


उनले भने, ‘सरकारले आफ्नो बुताअनुसार गरेको छ । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । यो विरोध गर्ने समय होइन । अनि बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । मैले बाहिर हुँदा पनि जानकारी लिएको छु ।’

उनले विपदको संवेदनशील बेलामा विरोध गरेर परिस्थिति झन बिगार्न खोजिएको भन्दै असन्तोष व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संवेदनशील बेलामा विरोधका लागि विरोध नगरौं । सरकार छ । यसले परिस्थिति सम्हाल्छ । गरिरहेको पनि छ ।’

उनले आफ्नो भ्रमणलाई लिएर नकारात्मक टिप्पणी नगर्न आग्रह गरे । उनले भने, ‘म कुनै भैंसी दुहुन गएर, दुध लिएर आएँ भनेजस्तो होइन । हाम्रा विचारहरू, हाम्रा समस्याहरू त्यहाँ राख्न गएको हो राखियो ।’

प्रधानमन्त्रीले महासभामा जलवायु परिवर्तनका मुद्दा संयुक्त राष्ट्रसंघमा उठाएको बताए । प्रधानमन्त्री ओली न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन यही असोज ४ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका थिए । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले महासभालाई यही असोज १० गते सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here